गुल्मी, ०७ चैत ।
मधाने सामुदायिक स्वास्थ्य केन्द्रद्वारा संचालन गरिएको १४ दिने निशुल्क मुटु सम्बन्धि शिविर सकिएको छ । शिविरमा ७१६ बिरामीले लाभ लिएका छन । विभिन्न ठाउँबाट आएका बिरामीहरु ४६५ जनाले मुटुको जाँच गरेका छन् यस्तै १७८ जनाले मुटुको इको सेवा ( भिडियो एक्सरे) लिएको र ७३ जनाले इ.सि.जि सेवा लिएको मधाने सामुदायिक स्वास्थ्य केन्द्रका इन्चार्ज यमलाल भुषालले जानकारी दिनुभयो ।
गुल्मीको मदाने गाउँपालिका स्थित मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा फागुन २४ देखि चैत ६ गतेसम्म संचालन गरिएको निशुल्क मुटुसम्बन्धि शिविर विशेषज्ञ डाक्टरहरुद्वारा उपचार गर्न पाउँदा बिरामी निकै खुसी र उत्साहित देखिएका छन । गुल्मी, प्युठान र अर्घाखाँची र बाग्लुङ्ग ४ जिल्लाका विभिन्न ठाउँबाट मुटुको उपचारका लागि बिरामीहरु उपस्थित भएका छन्। बिशेष गरि वृद्धवृद्धाहरु लाई ठुलै राहात पुग्यो । जसले गर्दा मुटु रोगको उपचारका लागि वृद्ध नागरिकहरुको चाप व्यापक रहेको थियोे ।
मुटु रोगको शिविर भन्दा अगाडि स्वास्थ्य केन्द्रले निशुल्क आँखा शिविर सम्पन्न गरिसकेको छ । फागुन २१ देखि २४ गते सम्म संचालन गरिएको आँखा शिविरमा ६३९ बिरामीले लाभ लिएका थिए भने ३२ जनाले आँखाको अप्रेसन गरेका थिए यस्तै १५९ जनालाई चस्मा वितरण गरिएको थियो ।
यो सँगै पुनः दन्त शिविर सुरु गरिएको बताइएको छ । चैत्र ५ गतेदेखि सुरु भएको निशुल्क दन्त शिविर चैत १७ गतेसम्म चल्ने छ । शिविरमा निशुल्क रुपमा विशेषज्ञ जर्मनी डाक्टर द्वारा उपचार भइरहेको छ ।।
संचालन भइरहेको निशुल्क स्वास्थ्य शिविर अन्तर्गत आँखा शिविर,मृगौला रोग विशेषज्ञ शिविर, मुटुरोग विशेषज्ञ शिविर, दन्तरोग विशेषज्ञ शिविर र जनरल फिजिसियन सम्बन्धि पाँच रोगको शिविर संचालन हुने छन । यि पाँच रोगका बिरामीहरूलाई लक्षित गर्दै पुर्वनिर्धारित कार्यक्रम अनुसार आँखा शिविर फागुन २१,२२,२३ र २४ गते आँखा शिविर सम्पन्न भयो भने मुटुरोग विशेषज्ञ सम्बन्धि शिविर फागुन २४ देखि चैत्र ६ गतेसम्म संचालन गरिएको हो । यस्तै दन्तरोग विशेषज्ञ चैत्र ५ गतेदेखि १७ गतेसम्म र जनरल फिजिसियन चैत्र १२ गतेदेखी चैत्र २७ गतेसम्म संचालन हुने कार्यक्रम रहेको बताइएको छ ।
नेपाल हेल्पद्वारा सञ्चालित मधाने सामुदायिक स्वास्थ्य केन्द्रले संचालन गर्न लागेको यस्ता विभिन्न रोगहरुका शिविरमा अधिक भन्दा अधिक बिरामीले लाभ लिने अपेक्षा गरिएको छ । मदाने गाउँपालिका साथै छिमेकी गाउँपालिकामा बसोबास गर्ने स्थानिय बासिन्दाहरुलाई लक्ष्यित गर्दै जनरल फिजिसियन र दात सम्बन्धि गरि निशुल्क उपचार तथा शल्यक्रियाका सुविधाहरु सो शिविरमा प्रदान गरिने बताइएको छ ।
गुल्मी, प्युठान, बाग्लुङ र अर्घाखाँचीका विभिन्न क्षेत्रका बिरामीहरुलाई सेवा प्रदान गर्दै आइरहेको यस स्वास्थ्य केन्द्रले स्थानीयहरुको मागलाई मध्येनजर गर्दै सेवा तथा सुविधा प्रदान गर्न यस स्वास्थ्य केन्द्रले विभिन्न समयमा विभिन्न फरकफरक खालका स्वास्थ्य शिविरहरु संचालन गर्दै आएको छ । स्थानियहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै जर्मनी विशेषज्ञ डाक्टरबाट गाउँमै निशुल्क सेवा सुबिधा लिन पाउदा स्थानीय निकै उत्साहित भएका छन ।