बाजुरा। जिल्ला अस्पताल बाजुरामा रहेका बडिमालिका नगरपालिका–९ का ४ वर्षीय गौतम थापाको अवस्था अहिले सामाजिक संजालमा भाईरल भईरहेको छ । मुखमा अक्सिजन पाइप लगाइएको छ । पीडाले छटपटाइरहेका बालक बोल्न सक्दैनन् ।
चिकित्सकका अनुसार मुटुको भल्भमा समस्या रहेकाले औषधिले निको नहुने देखिएको र अपरेसन गर्नुपर्ने बताएका छन् । उनी दुई दिनदेखि सो अस्पतालमा छन् । चिकित्सकका अनुसार गौतमको उपचार बाजुरामा सम्भव छैन । मुटुमा समस्या भएका कारण दुई वटा भल्ब फेनुपर्ने चिकित्सकले बताएका छन् ।
तर, आर्थिक अभावमा थापाका परिवारले उपचार गराउन काठमाडौं समेत लैजान सकेका छैनन् । अहिलेसम्म जिल्लादेखि काठमाडौंको अस्पतालसम्म छोराको उपचार गर्न १२ लाख रुपैयाँ बढी खर्च भएको बुवाको भनाइ छ। सरसापट गरेको ३ लाख रुपैयाँ बढी ऋण लागेको उनले बताए।
हाल गौतम बाजुरा जिल्ला अस्पतालमा अक्सिजनको सहारामा छन् । अस्पतालले गौतमको अवस्था जटिल भएको भन्दै अभिभावकबाट मञ्जुरीनामा समेत लिइसकेको छ । चिकित्सकका अनुसार बच्चा अस्पताल आउँदा शरीर पुरै निलो थियो । दिसा–पिसाब गर्न नसक्ने अवस्थामा थियो ।
अहिलेसम्म हामीले जसोतसो बचाइरहेका छौ । समयमै बच्चाको अप्रेसन हुन सकेन भने जे पनि हुनसक्छ,’ बाजुराका मेडिकल डा. प्रेरितले भने । उनको यो मन्जुरी नामा र छोराको अवस्थाबारे सामाजिक सञ्जालमा भाइरल भएपछि वडा कार्यालय र नगरपालिकाले पनि सहयोग गर्ने भने।
गौतमको उपचार बाजुरामा सम्भव नहुने भन्दै अस्पतालले रेफर समेत गरिसकेको छ । तर, उनका बाबु पैसा जुटाएर मात्रै काठमाडौं जाने भन्दै वडा कार्यालय र आफन्तकोमा धाइरहेका छन् । गाउँमा ज्याला मजदुरी गर्दै आएका उनि आर्थिक अभाव संगै छोराको उपचार राम्रोसंग गर्न नसकेको बताउछन् ।