कार्यसम्पादन मूल्यांकनमा गुल्मीमा मदाने गाउपालिका उत्कृष्ट भएको छ । बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्यांकन मदाने गाउँपालिका जिल्लामा पहिलो भएको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०/८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकाङ्कका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्याङ्कन गर्ने छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा हिजो सार्वजनिक गरेको प्रदेश तथा स्थानीय सरकारको कार्यसम्पादन सूचकको मूल्याङ्न प्रतिवेदनका आधारमा गुल्मी जिल्लामा मदाने गाउँपालिका ७६.०१ अंक प्राप्त गर्दै प्रथम र देशभरकै गाउँपालिकामध्ये छैटौँ स्थानमा परेको छ ।
त्यस्तै रेसुङ्गा नगरपालिकाले ७३.६८, गुल्मीदरबार गाउँपालिकाले ७१.४८ र छत्रकोट गाउँपालिकाले ७१.८१ अंक प्राप्त गरेका छन् । सबैभन्दा कम कालिगण्डकीले ५७.१७ अंक ल्याएको छ भने अन्य पालिकाहरूको अंक ६०.०१ देखि ६९.९९ को बीचमा रहेको छ ।