विवश विष्ट,
गुल्मी – प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा यसपाली गुल्मी क्षेत्र न २ लाई फरक ढङ्गले हेरिएको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको गुल्मीको क्षेत्र न १ र २ दुवैमा कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । निर्वाचन क्षेत्र न. २ मा सदरमुकाम तम्घास सहित रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका, धुर्कोट गाउँपालिका, मालिका गाउँपालिका र मदाने गाउँपालिका पर्दछन् ।
विगत लामो समय देखि यस निर्वाचन क्षेत्रलाई प्रतिनिधित्व गर्दै सांसद देखि मन्त्री समेत बनेका गोकर्ण विष्टलाई फेल गराउन यसपालि कांग्रेससहित ५ दलिय गठबन्धनको टिम लागि परिरहको छ । संयुक्त गठबन्धनबाट साझा उम्मेदवार रामकुमारी झाक्रीले यसपटक एमालेका उम्मेदवार गोकर्ण विष्टलाई फेल गराउन सक्लिन त? आम चासोको विषय रहेको छ ।
विष्ट र झाक्री पुर्व सहकर्मी हुन । एमाले विभाजन पश्चात् विष्ट एमाले मै रहे भने झाक्री एकीकृत समाजवादीमा गइन । विष्ट र झाक्री दुवै दुई ठुला पार्टीका केन्द्रीय सचिव समेत छन । विष्ट नेकपा एमालेका केन्द्र सचिव तथा झाक्री एकीकृत समाजवादीका केन्द्रीय सचिव हुन । यसरी विष्टले दुई पटक मन्त्री बन्दा यस क्षेत्रमा गरेका विकासका कारण छुट्टै छाप छोडिसकेका छन भने झाक्री एक पटक शहरी विकास मन्त्री हुदा छोटो समयमै गरेको विकासका कारण यहाँका जनता आकर्षित छन् ।
गुल्मी निर्वाचन क्षेत्र न. २ मा स्थानिय तहको वडाअध्यक्षको नतिजालाई हेर्ने हो भने नेकपा एमाले भन्दा संयुक्त गठबन्धन अगाडि छ । एमालेसहितको गठबन्धनको ३१,३६२ र काङ्ग्रेस सहितको गठबन्धनको ३२,२२७ सहित काङ्ग्रेस गठबन्धन ८/९ सय मतले अगाडि छ । मंसिर ४ गते हुने चुनावको लागि क्षेत्र नम्बर २ मा १ लाख ४ हजार ६१५ मतदाता छन् ।
यस निर्वाचन क्षेत्रका कुल ४३ वडा मध्ये स्थानिय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा कांग्रेस २५ र माओवादीको १ सहित २६ वडा र एमालेले १७ वडामा जितेको छ । वडा अध्यक्षले पाएको मत कायम रहेमा यसपालि गुल्मी २ बाट केन्द्रमा एमाले विरासत तोडी गठबन्धनको प्रतिनिधित्व गर्दै रामकुमारी झाक्री सांसद बन्ने छिन । स्थानिय तहमा वडा अध्यक्षले पाएको मत कायम गर्दै केही गठबन्धनका मत लिन सकेमा विष्ट पनि विजयी बन्ने छन । यसर्थ झाक्री र विष्टको यो प्रतिस्पर्धा निकै रोचक छ ।
यस्तै प्रदेश सभाका लागि गुल्मी क्षेत्र २ ख मा नेकपा एमालेबाट उम्मेदवार दिनेश पन्थी र सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका बुद्धि जिसिको टक्कर हुँदै छ । यस निर्वाचन क्षेत्रमा मदाने गाउँपालिका, मालिका गाउँपालिका र धुर्कोट गाउँपालिका पर्दछन् । यस क्षेत्रका जम्मा २२ वडा मध्ये स्थानिय तहमा सत्ता गठबन्धनले १४ वडाअध्यक्ष र एमालेले ८ वडा अध्यक्ष पाएको छ । स्थानिय तहको मतपरिणाम हेर्ने हो भने पन्थीलाई भन्दा जिसिलाई जित निकाल्न सजिलो छ ।
यसपटक समग्र रुपमा हेर्दा एमाले र सत्ता गठबन्धनको प्रतिस्पर्धा निकै भएकाले ठ्याक्कै यो विजयी हुन्छ भन्न भने सकिदैन यद्यपि यसपटक सत्ता गठबन्धन विजयी बन्ने आंकलन गरिएता पनि वास्तविक कस्को विजयी हुन्छ ? विष्टलाई फेल गराउन सफल होलिन या नहोलिन झाक्री ? थाहा पाउन मंसिर ४ पश्चातको मतपरिणाम कुर्नैपर्छ ।