हर्ष र उल्लासका साथ हरेक वर्ष हरितालिका तीज हिन्दू नारीहरुको महान पर्वको रुपमा मनाउने गरिन्छ । हिमालय पुत्री पार्वतीले पर्वतमा गएर लुकेर आफ्ना संगीनीहरुलाई मात्र डाकेर महादेव पति पाउँ भनेर दिनभर निराहार ब्रत बसी मध्य रातमा शिवको पूजा आराधना गरेर महादेव पति पाएको कुरा परापूर्व कालदेखि सुन्नमा आएको छ । उपवास अर्थात् व्रत बस्ने व्रतालु महिलाहरुको स्वास्थ्यमा प्रतिकुल असर नपरोस् भनेर भाद्र शुक्ल पक्ष द्वितीयको दिन राती दुई बजेसम्म दर खाने प्रचलन छ । भाद्र शुक्ल पक्ष तृतीय हरितालिका तिजको दिन दिनभर निरहार ब्रत बसेर मध्यरातमा शिवको पूजा आराधना गरेर अविवाहित महिलाहरुले असल पतिको कामना गर्दछन् भने विवाहित महिलाहरुले आफ्नो पतिको सुस्वास्थ्य र दिर्घायुको कामना गरेर मनाइन्छ ।
तीज पर्वमा विवाह भै अन्यत्र गएका छोरीहरुलाई माईतीबाट बोलाउने अथवा वर्षभरी टाढा भएर माईती आउन नपाएका छोरीहरुलाई बावु, दाजुभाईले लिन जाने चलन छ । माईती आउन नपाउने छोरीहरुलाई तीजको अघिल्लो दिन दर खाने दिनमा वरापरी भनेर आफ्नो क्षमताले भ्याएसम्म राम्रो कपडा र तीजको दिनमा पूजा गर्नको लागि पूजाका आवश्यक सामाग्रीहरु किनेर पठाउने, दरको लागि मिठामिठा खाने चिजवस्तु, रोटी, कुराउनी, मिठाई, फलफुल, तरकारी अचार सहित छोरीको घरमा पठाउने परम्परा छ ।
भाद्र शुक्ल पक्ष तृतीयको दिन दिनभर व्रत बस्छन् र गाउँका मुखियाको घर आँगनमा वा गाउँको चौतारो अर्थात् मुख्य ठाउँमा गाउँभरका महिलाहरु रातो कपडा र साडीमा सजिएर, गरगहना लगाएर, सिंगारिएर नाचगान गर्ने गरिन्छ । सोही दिन गाउँका मुखिया तथा ठुलावडा मानिसहरुले व्रतालु महिलाहरुको लागि काठबाट बनाइएको चर्के पिङ, लठ्ठे पिङ बनाइदिन्थे । गाउँघरमा उक्त दिन जमीन छोडेको खण्डमा अर्थात् नाच गान गर्दा, पिङ खेल्दा खुट्टाले जमीन छोडिन्छ र व्रत बसेको फल मिल्छ र स्वर्ग गइन्छ भन्ने जनविश्वास थियो । जसले गर्दा पुरुषहरुले पनि महिलाहरुलाई सघाउने सहज बनाइदिने गर्दथे ।
व्रत बसेपछि राती सबै छरछिमेकका छोरी बुहारी, आमा, भाउजु लगायतका व्रतालु महिलाहरु एक ठाउँमा जमघट भई वैदिक विधिपूर्वक शिवजीको थापना सहित पातीको गौरा पार्वती बनएर पूजा आराधना गरी रातभर जाग्राम बसेर नाचगान गर्ने गरिन्छ । नाचगान गर्दा भजन किर्तनका साथै तीज गीतको माध्यमबाट माइती जान नपाएका छोरीबेटीहरुले माइती जान नपाएको दुखेसो पोख्छन् । सोही अवसरमा वर्ष दिनसम्म सासु ससुरा, देवर जेठाजु, नन्द अमाजुहरुबाट कुनै दुःख दिएको भए, नराम्रो व्यवहार गरेर चोट र पीडा पुर्याएको भए वर्षभरी संगालेर राखेको त्यो दुःख, पीडालाई समेटेर गीतको माध्यमबाट सबै सामु पोख्ने पनि गरिन्छ । तीजको अवसरमा उनीहरुले गीतको माध्यमबाट व्यक्त गरेका भावना र दुखेसोलाई परापूर्व कालदेख नै स्वाभाविक रुपमा लिने पनि गरिएको छ र महिलाहरुलाई यसको लागि पूर्ण स्वतन्त्रता पनि दिइएको हुन्छ । अर्को दिन विहान धूप वत्ती गरेर व्राम्हण र कन्यालाई टिका लगाई दान दक्षिणा दिई गौरी पार्वतीलाई डोलीमा सजाएर फुलपाती सहित सामूहिक रुपमा व्रतालु महिलाहरुले गीत भजन गाउँदै नदीमा सेलाएर समापन गर्ने प्रचलन थियो । त्यसपछि मात्र व्रतालु महिलाहरुले खाना खान्थे ।
अब समय परिवर्तन हुँदै गयो र समयको परिवर्तन संगै परम्परागत संस्कृति, संस्कारमा पनि परिवर्तन परिमार्जन हुँदै गयो । आजकल व्रतालु महिलाहरु दिउँसो मन्दिरमा जान थाले, राती जाग्राम बस्न र पूजा आराधना गर्न पनि छोड्दै गए । वर्तमान समयमा पवित्र पर्व हरितालिका तीजको परम्परागत संस्कृति र संस्कारबाट विचलित भएर संस्कृतिको जगेर्ना, सम्वद्र्ध, प्रवद्र्धन र संरक्षण गर्न छाडे । भाद्र शुक्ल पक्ष द्वितीयको दिन राती एक दिन मात्र दर खाने परम्परा विपरीत एक महिना पहिलेदेखि नै ठुला ठुला होटेल रेष्टुरेन्टमा दर खाने, भड्किलो रुपमा महिला संगै पुरुषहरु पनि संगै दाँजिएर दोहोरी गाउने र नाच्ने प्रचलन शुरु भएको छ ।
तीजको “बरी लै…” को भाखा बिगारेर रत्यौली र दोहोरीका उत्ताउला भाखाहरुमा तीजका गीत गाउन थालियो । यसरी “बरी लै…” को भाखा ओझेलमा पर्दै गएको छ । त्यसबेला भगवानको नाममा, शिव पार्वतीको नाममा तिजका भजन र गीत हुन्थे र गाउने, नाच्ने परम्परा थियो । ठाउँ रहन सहन र जातजाति अनुसार तीजको भाखा वा शैली फरक हुन सक्छ । यस बारे संक्षिप्त चर्चा गरौं–
आर्थिक रुपमा विपन्न असक्षम महिलाहरुले पनि अरु आर्थिक रुपमा सक्षम र धनाढ्य महिलाहरुको देखासिकी गर्दै ऋण काढेर भएपनि महँगा गहना, कपडा किनेर तीजलाई भड्किलो पर्वको रुपमा मनाउने प्रवृत्ति बढ्दै गएको छ । जुन एकदमै नराम्रो हो र यसले साँस्कृतिक परम्परालाई तहस नहस गर्दै समाजलाई विकृति तर्फ उन्मुख गराउन सहयोग गर्दैछ । यसरी आफ्नो धर्म, संस्कृति र परम्परालाई बिर्सेर तीजलाई यसरी विकृत बनाउने अभ्यास गर्दै सस्तो लोकप्रियता र अर्थार्जनको माध्यमको रुपमा हाम्रा गायक गायिका र कलाकारहरुले तीज जस्तो पवित्र पर्वलाई उपयोग गर्ने छाडा संस्कृति समाजमा स्थापित गर्ने प्रतिस्पर्धामै उत्रन थालेको भान हुन्छ । जसको ज्वलन्त नमूना यूटुब र टेलिभिजन मार्फत् देखाइने दोहोरी गीत र रत्यौली जस्ता गीतहरुबाट स्पष्ट हुन्छ ।
तीजमा निराहार ब्रत बस्ने भएकोले तीजको दिनमा भोक नलागोस् भनेर तीजको अघिल्लो दिन राती एक दिन मात्र मिठो चोखो दर खाने चलनमा विकृति आउन थालेको छ । यसको ज्वलन्त उदाहरण महिनौं दिन पहिलेबाट होटलहरु बुक गरेर दर खाने नाममा मदिरा समेत गरेको प्रचलनलाई लिन सकिन्छ । व्यापारिक र सामाजिक संघ संस्थाहरुले त तीजलाई आफ्नो व्यापार गर्ने र पैसा कमाउने माध्यम समेत बनाइरहेका छन् । अहिले हामी देख्न सक्छौं शहर बजारमा खुलेका होटल लज रेष्टुरेन्टहरुले आफ्नो ग्राहक बनाउन विभिन्न उद्देश्यले गठन भएका महिला समूह आमा समूहका अगुवाहरु र धनाढ्य घरका महिलाहरुलाई महिनौं दिन अघिबाट दर खान बोलाउने गर्दछन् । यसरी तीजमा दर खुवाएर संघ संस्था वा समूहमा हुने कार्यक्रमहरु आफ्नो होटेलमा आयोजना गर्न अनुनय विनय गर्दछन् । आफ्नो होटेल रेष्टुरेन्टको प्रचार प्रसार प्रवद्र्धन गर्ने व्यापारिक रणनीति हो । यसरी हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज पनि व्यापारिकरण हुन थालेको छ । यो कसले बुझ्ने । यस्तो प्रवृत्तिलाई कसले रोक्ने ?
तीजको नाममा उत्ताउला दोहोरी गीत र रत्यौली सभ्य नेपाली नारीहरु वीच निकै आलोचित भएका छन् । अब साँच्चै नै हामीले तीज पर्वको ऐतिहासिक महत्व र मौलिक सँस्कृतिको जगेर्ना गर्ने हो भने वर्तमानमा झँग्गिंदै गएको उत्ताउलो, भड्किलो र छाडा संस्कृतिबाट समाजलाई बचाउने हो र हाम्रा भावी सन्ततिलाई तीज जस्तो पवित्र पर्वको बारेमा वास्तविक रुपमा पहिचान गराउने हो भने समाजमा सचेतना फैलाउने खालका अग्रगामी तीजका गीतहरुलाई स्थापित गर्न अग्रसर हुनु पर्दछ । अब महिलाहरुले महिला सशक्तिकरण, उद्यमशीलता, महिला अधिकार, समानता, समविकास, चोलीबेटी बेच विखन, घरेलु हिंसा, राजनीतिक अस्तव्यस्तता, अन्याय अत्याचार, भ्रष्टाचार लगायतको सवाललाई तीजको गीत र नृत्यको माध्यमबाट चेतना फैलाउने खालका तीज कार्यक्रम गर्दै आएमा छाडा संस्कृतिलाई लत्याएर तीजको परम्परागत तथा मौलिक संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्नेछ ।
मानिसको जीवनमा दुःख सुखका धेरै अकल्पनीय घटना घट्ने गर्दछन् । त्यसलाई सबैले स्वीकार्नै पर्दछ । तर, नेपालमा अहिले महिला र बालबालिका माथि भइरहेका घरेलु हिंसा, बलात्कारका घटनाहरुले गर्दा अपराधिक प्रवृत्तिले यतिसम्म प्रोत्साहन पाइरहेको छ कि नेपालमा कानूनी शासन नै छैन कि भन्ने भान हुन थालेको छ ।