साहित्यकार लोकेश जलनका यी मन छुने गजल हरु तपाइको लागि ।
मलाई मनुवा मर्ला लाग्दैन मनुवाको लागि !
कुवाको भ्यागुता मर्ला बरु कुवाको लागि !
मेरो खुट्टाको रहर पूरा गर्ने जो जुत्ता थियो ।
त्यहीँ जुत्ता हो काल बनेको बुवाको लागि !
सबै रङ्ग सबैका लागि रङ्गिन कहाँ हुन्छन् ।
रङ्ग बिहिन भैदिन्छ रातो विधुवाको लागि !
यो आँखामा आँसु देखेर कठै भन्छौ तिमी ,
अरे यार नदि केही होइन बालुवाको लागि !
यसरी पनि त सकिन्छ नि मान्छे रिझ्याउन ।
ऊ पुगेको छ सगुन बोकेर सरुवाको लागि !
******************************
ओल्टे,कोल्टे फर्कियो छट्पटीदै उत्तानो फर्कियो !
यत्तिकै,यत्तिकैमा उज्यालो घरको छानो फर्कियो !
मेलो नसकिदै मेलामा परेको हो मुसलधारे पानी,
बाआमा भिजेर फर्किए बच्चा ओभानो फर्कियो ।
आमाको यै जिज्ञासा घरिघरि दोहोरीन्छ ममाथि ।
तँ फर्कन्नस छोरो तँसगै गएको फलानो फर्कियो !
दिनमा यौटा रातमा अर्को राज गर्छ यो आङमा ।
चिसोको पालो थ्यो चिसो आयो न्यानो फर्कियो !
आफ्नो थियो कोही बेला अघि भेटिएको मान्छे ।
रत छातीबाट गएको छातीमै भक्कानो फर्कियो !
************************************
ठुलो मर्कामा छु मेरै घर हो बर्षाले खोला भएको !
अझै मिलेन क्षतिपूर्ति पोहोरै लेखाजोखा भएको !
बा किन सहेको त्यो पसलेले कठालो तान्दा पनि ?
बाबू नसहे,मैले देख्नुपर्छ तिमीहरु भोका भएको !
क्वै मान्छेको क्वै भुमिको बेपार गर्छन् यो देशमा ,
हामी मात्रै किन इमानदार भएको सोझा भएको ?
चुलो देखि पिढी पुग्न लौरोकै सहायता लिनुपर्छ।
छ न त ऊ,छ नि छोरो बलिस्ठ हातगोडा भएको !
न ऊ मेरो काम लाग्यो,न त म उसको काम लागे ,
अर्कैले लाभ उठायो ऊ गाग्री म लोहोठा भएको !
************************************
स्मृतिमा मात्रै रह्यो यौटा चेहरा जो हँसिलो लाग्थ्यो !
जसको दिल पनि भूगोल भन्दा फराकिलो लाग्थ्यो !
मुरी फल्ने बास्कोट फेरि बाँझो रह्यो यो साल पनि ।
लाग्न त छोराबुहारी हामी जस्तै जाँगरिलो लाग्थ्यो !
गधा भन्नू भयो अल्लि अग्लो भएको छु र मालिक ?
म आजसम्म हजुरको आँखालाई कमिलो लाग्थ्यो ।
आगामी रात ऊ बिना आसामले उज्यालो पार्नु छ ।
जो बिना तकिया होचो बिस्तरा असजिलो लाग्थ्यो !
सुकिलो हुन पाएको छैन आफ्नै काखमा यो जीउ ,
आमाको काखमा न धुलो लाग्थ्यो न हिलो लाग्थ्यो !
*************************************
ओ नानी हो कपि खेर जान्छ पेन्सिल खेर जान्छ !
नकोर देशको नक्शा छिमेकी आइ च्यातेर जान्छ !
हिजो पाउमा पाउ लागे पनि पाउमा शिर राख्थ्यो ।
आज ऊ छातीमा पाउ लाग्दा पनि कुल्चेर जान्छ !
जुन मान्छे म सयौं बर्ष बाँचोस् भनेर प्रर्थाना गर्छु ।
त्यहीँ मान्छे आएर यो घाँटीमा डोरी नापेर जान्छ !
ए काडा तेरो जस्तो सजिलो छैन फूलको दैनिकी ।
यौटा आएर हेेरेर जान्छ अर्को आएर चुडेर जान्छ !
बाढी आउँछ भुकम्प आउँछ लिएर जान्छ घरखेत ।
सरकार आउँछ एक पोको चाउचाउ दिएर जान्छ !