
काठमाडौं, भदौ १३ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि बेपत्ता भएकामध्ये शनिबार बिहानसम्म ६१६ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका अनुसार शनिबार बिहान ७ बजेसम्म बाढीमा परी बेपत्ता भएका ६१६ जनाको शव विभिन्न जिल्लाबाट फेला परेको हो। फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८ र तनहुँमा ३१ जना रहेका छन्।
त्यस्तै, नवलपरासी पूर्वबाट १५८ जना र नवलपरासी पश्चिमबाट ४७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ।
प्रहरीका अनुसार बाढी प्रभावित विभिन्न स्थानबाट हालसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाबाट ६७६, नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट ३ जना रहेका छन्।
बाढीबाट प्रभावित क्षेत्रमा सुरक्षा निकायले खोजी, उद्धार तथा बेपत्ताको अवस्थाबारे विवरण संकलन गर्ने कामलाई निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ।
