
काठमाडौं, भदौ १५ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो खसेपछि राजमार्गको यातायात पूर्ण रूपमा प्रभावित भएको छ। सडक अवरुद्ध भएपछि काठमाडौं जाने तथा काठमाडौंबाट बाहिरिने सवारी साधनका लागि विभिन्न वैकल्पिक मार्ग प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
साना तथा मझौला चारपाङ्ग्रे सवारी साधनले फिस्लिङबाट आग्रीडाँडा, तोमनडाँडा, बनटार, दलभञ्ज्याङ, रानिस्वारा, ठुलोदर्बुङ, दर्बुङफाँट हुँदै सिउरेनीटारबाट बेनिघाट निस्कने बाटो प्रयोग गर्न सक्नेछन्। उक्त वैकल्पिक मार्ग करिब ३२ किलोमिटरको रहेको छ।
मोटरसाइकल चालकका लागि मझिमटार अगाडिबाट ज्यामिरेघाटको झोलुङ्गे पुल हुँदै सिउरेनीटार र बेनिघाट पुगेर काठमाडौं जाने बाटो खुला गरिएको छ।
कास्की, लमजुङ र तनहुँबाट काठमाडौं आउनुपर्ने सवारी साधनले भने गोरखा सदरमुकाम हुँदै बुंकोट, नाम्जुङ, फुजेल, दर्बुङ–सिउरेनीटार र बेनिघाटको मार्ग प्रयोग गर्न सक्नेछन्। कृष्णभीरको पहिरोका कारण मुख्य सडकबाट यात्रा सम्भव नभएपछि यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गरी सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।


