
गोरखा, भदौ २१ – गोरखाको चुमनुब्री गाउँपालिकामा थेराङ खोलामा आएको बाढीले चार घरसहित झोलुङ्गे पुल बगाएको छ। आइतबार बिहान आएको बाढीले चुमनुब्री–४ का चार स्थानीयका घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
बाढी आउँदै गरेको थाहा पाएपछि स्थानीयवासी समयमै सुरक्षित स्थानमा पुगेका कारण मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ। बाढीले सोही क्षेत्रमा रहेको झोलुङ्गे पुलसमेत बगाएपछि स्थानीयको आवतजावत प्रभावित भएको छ।
पुल बगेसँगै मनास्लु पदयात्रामा रहेका पर्यटकलाई समेत समस्या हुने भएको छ। गाउँपालिका अध्यक्ष निमा लामाले तत्कालका लागि पैदल आवतजावत गर्न सकिने अस्थायी व्यवस्था मिलाउने प्रयास भइरहेको बताएका छन्।
खोलाको मुहान क्षेत्रमा केही समय पानी थुनिएपछि लेदोसहित ठूलो बाढी आएको बताइएको छ। थेराङ खोला बूढीगण्डकीमा मिसिने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन आग्रह गरिएको प्रशासनले जनाएको छ।


