
विराटनगर, भदौ २० – विराटनगरमा आज ५९औँ राधाकृष्ण रथयात्रा निकालिँदै छ। विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे रथयात्रा सुरु हुने आयोजकले जनाएको छ। रथयात्राका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ।
विराटनगरबाट सुरु भएको राधाकृष्ण रथयात्रा पछिल्लो समय कोशी प्रदेशका अन्य शहरमा समेत आयोजना हुँदै आएको छ। इटहरी र दुहबीसहितका शहरमा पनि रथयात्राको तयारी गरिएको छ। रथयात्रामा नेपालका विभिन्न जिल्ला तथा भारतका सीमावर्ती क्षेत्रबाट पाँच लाखभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।
यस वर्ष रथयात्रामा डिजे साउन्ड प्रयोग गर्न रोक लगाइएको छ। धार्मिक पर्वको मौलिकता र परम्परागत स्वरूपलाई कायम राख्दै भजन–कीर्तन, धार्मिक झाँकी तथा सांस्कृतिक प्रस्तुतिलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ।
रथयात्राका क्रममा भक्तजनबाट संकलन हुने भेटी भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहतका लागि प्रयोग गरिने भएको छ। नगर परिक्रमा गराइने तीनवटा दान पेटिकाबाट संकलित रकमसमेत प्रधानमन्त्री राहत कोषमा जम्मा गरी बाढी प्रभावितको राहतमा खर्च गरिने आयोजकले जनाएको छ।


