टोकियो। जापानको माउन्ट फुजी चडने क्रममा दुर्घटनामा परि एक नेपाली युवाको निधन भएको छ। मृत्यु हुनेमा सोलुखुम्बुको नाम्चे घर भएका छिरिङ शेर्पा रहेका छन् । शेर्पा सहित दुईजना जापानी नागरिक र एकजना अमेरिकी गरी जम्मा चार जनाको टोली फुजी हिमाल आरोहणमा गएका थिए ।
उद्धारको लागि हेलिकप्टरको साहयता लिएपनि प्रतिकुल मौसमका कारण घटनास्थलमा हेलिकप्टर बस्न नसकेपछि १५ जनाको उद्धार टोली पठाई घाइतेलाई नजिकैको अस्पताल ल्याइएको थियो। उनलाई उपचारका लागि लगिएपनि बचाउन नसकिएको बताइएको छ ।
मृतक शेर्पाको शव भने प्रतिकुल मौसमको कारण एक सातापछि घटनास्थलबाट टोकियो ल्याइ परिवारले शव जिम्मा लिएको थियो। उनी श्रीमती र २ जना छोरासहित करिब २ दशकदेखि जापानको खानागावा केनमा बसोबास गर्दै आईरहेका थिए। उनको शव अप्रिल १० तारिख जापानमानै अन्तिम दाहसंस्कार गरिने बताइएको छ ।
यो पनि : दुई सय आरोहीलाई सगरमाथा आरोहणको अनुमति, काठमाडौँ– यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजसम्म २० आरोही समूहका झन्डै दुई सय आरोहीहरूले अनुमति लिएका छन् ।
पर्यटन विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाका अनुसार सगरमाथा आरोहणका लागि २० आरोही समूहमा ३१ महिला र एक सय ६६ पुरुष गरी कूल एक सय ९७ आरोहीले अनुमति लिएका हुन् । यो ऋतुमा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आरोही आइरहेका छन् ।
पर्वतारोहण शाखाको विवरणअनुसार आजसम्म सगरमाथासहित विभिन्न हिमाल तथा चुली आरोहणका लागि ५५ आरोही समूहका चार सय ६० बढी आरोहीहरूले अनुमति लिएका छन् । हिमाल आरोहणबाट झन्डै २८ करोड रोयल्टी जम्मा भएको छ ।
नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले यो ऋतु सगरमाथा आरोहण गर्नेका लागि निकै उत्साहबर्धक हुने विश्वास व्यक्त गरे । उनले भने, ‘सगरमाथा आरोहणमा विदेशीको आकर्षण हेर्दा उत्साहवर्द्धक हुने देखिन्छ । कोभिड–१९ महामारीपूर्वको अवस्थाभन्दा पनि राम्रो हिमाल आरोहण हुने अनुमान गरिएको छ ।