विश्वमा अनौंठो घटनाहरु भइरहन्छन्। सोही क्रममा भारतमा पनि अचम्मको, रमाइलो या भनौं बेहुला पक्षको लागि दुःखद् घटना भएको छ। इन्डिया टुडेका अनुसार उत्तर प्रदेशमा एक विवाह समारोह जारी थियो। बेहुला र बेहुली दुवै मण्डपमा थिए।
सो क्रममा बेहुलाको टाउकोमा रहेको विग खस्यो। आफ्ना हुन लागेका श्रीमान कपाल नभएका व्यक्ति ‘टक्ला’ भएको बल्ला थाहा भएपछि बेहुलीको होस् उड्यो।
बेहुलीले केही सोच्नै सकिनन्। उनी मण्डपबाटै विवाह समारोह छाडेर भागिन्। उन्नाओ जिल्लामा विवाहको बीचमा बेहुलाको टाउकोमा कपाल नभएको थाहा पाएपछि बेहुलीले विवाह गर्न अस्वीकार गरेकी हुन्।
बेहुला बेहोस भएर लडेपछि उनको विग खसेको थियो। बेहुली पक्षले विवाह तय हुनुभन्दा पहिला नै बेहुलाको टाउकोमा कपाल नभएको कुरा लुकाइएको आरोप लगाएको छ।
भारतमा दाइजो, जात तथा विभिन्न कारणले विवाह रोकिँदै आएको घटना बाहिरिने गर्छन्। तर कपाल नभएकै कारणले विवाह रोकिनु विरलै घटना हो।