काठमाडौं :- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल अर्को महिना सकिँदैछ । २०७३ सालको भदौ २९ गते मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानको कार्यकाल भदौ २९ गते सकिँदैछ ।
लोडसेडिङ हटाएको, रुग्ण आयोजनाको निर्माण सम्पन्न गरेको, विद्युत चुहावट घटाएको, चरम घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा लगेको लगायतका कामबाट वाहवाही पाएका कुलमानलाई सरकारले अर्को कार्यकालको लागि नियुक्त गर्ला कि नगर्ला भन्ने अड्कलबाजी पनि सुरु भएको छ ।
कुलमान घिसिङलाई अर्को ४ वर्षको लागि कार्यकारी निर्देशकमा पुनः नियुक्ती गर्नको लागि कुनै ऐन, नियम बाधक छैनन् । विभागीय मन्त्री वर्षमान पुन र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा भर पर्छ ।
बर्खायाममा समेत दैनिक ८ घन्टा लोडसेडिङ रहेको अवस्थामा २०७३ सालको भदौमा नियुक्त भएका कार्यकारी निर्देशक घिसिङले त्यही वर्षको लक्ष्मीपूजाको दिनदेखि काठमाण्डौ उपत्यकालाई लोडसेडिङमुक्त बनाउनुभएको थियो ।
हिउँदमा दैनिक १८ घन्टासम्मको लोडसेडिङको अवस्थालाई अन्त्य गर्दै अहिले देश लोडसेडिङमुक्त भएको छ । वर्खायाममा बिजुली बेच्ने अवस्थामा नेपाल पुगेको छ । चमेलिया, कुलेखानी तेस्रो, त्रिशूली थ्रि ए लगायतका रुग्ण जलविद्युत आयोजना सम्पन्न गरेका कुलमानले प्रशारणलाइन र सबस्टेसनको निर्माण र मर्मतलाई पनि उत्तिकै प्राथमिकता दिनुभएको थियो ।
कार्यकाल सम्हाल्दा ९ अर्ब रुपैयाँ घाटामा रहेका प्राधिकरणलाई घिसिङले आर्थिक वर्ष २०७५/७६ सम्म ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफामा लैजानुभएको छ । आर्थिक वर्ष २०७२/७३ मा ३४ अर्ब ६१ करोड सञ्चित नोक्सानी रहेको प्राधिकरणले आर्थिक वर्ष ०७५/७६ मा १५ अर्ब २२ करोडमा झार्न सफल भएको छ । आर्थिक वर्ष २०७२/७३ मा ३५ अर्ब ७ करोड आम्दानी रहेको प्राधिकरणले आर्थिक वर्ष ०७५/७६मा ७३ अर्ब ४६ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
प्राधिकरणको सहायक कम्पनीहरुमार्फत निर्माण हुन लागेका १४० मेगावाटको तनहुँ, ४० मेगावाटको राहुघाट र ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्रि बी जलविद्युत आयोजनाको काम द्रुत गतिमा अघि बढेको छ ।प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी अन्तर्गतका १ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्यभोटेकोसी, ४२ दशमलव ५ मेगावाटको सान्जेन र १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन आयोजना छिट्टै निर्माण सम्पन्न हुने अवस्थामा छन् ।
कुलमानकै कार्यकालमा ढल्केबर २२० केभी सबस्टेसन निर्माण सम्पन्न गरी नेपाल भारतबीचको अन्तरदेशीय प्रसारण लाइन मुजफरपुर ढल्केबरलाई २२० के.भी. मा चालु गरिएको छ । कटैया कुशाहा १३२ के.भी. दोश्रो सर्किट र रक्सौल परवानिपुर १३२ के.भी. प्रसारण लाइनहरुको निर्माण सम्पन्न गरी नेपाल र बिहारबीच विद्युत आदानप्रदानको क्षमता विस्तार भएको छ ।