
काठमाडौं, भदौ २४ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटना अघिल्लो दिनको प्रदर्शनमा युवाको मृत्यु भएपछि उत्पन्न आक्रोशको परिणाम मात्र नभएको दाबी गरेका छन्। उनले उक्त घटनालाई योजनाबद्ध रूपमा लोकतन्त्रमाथि भएको आक्रमणका रूपमा व्याख्या गरेका छन्।
घटनाको एक वर्ष पुगेको अवसरमा विज्ञप्ति जारी गर्दै ओलीले भदौ २३ को प्रदर्शनमा ज्यान गुमाएका युवा तथा कर्तव्य पालनाका क्रममा मारिएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
लोकतन्त्रमा नागरिकले आफ्ना माग, असन्तुष्टि र अपेक्षा शान्तिपूर्ण रूपमा राख्न पाउने ओलीले बताएका छन्। तर शान्तिपूर्ण प्रदर्शनमा आपराधिक समूहले घुसपैठ गरी त्यसलाई हिंसात्मक र अराजक बनाएको उनको आरोप छ।
ओलीले भदौ २४ मा राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनीलाई नेपालको इतिहासकै कालो अध्याय भनेका छन्। उनका अनुसार घटनाले राज्यका महत्वपूर्ण संरचना र लोकतान्त्रिक संस्थामाथि गम्भीर आक्रमण भएको थियो।
शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसका लागि को जिम्मेवार थिए भन्ने विषयमा गहिरो अनुसन्धान आवश्यक रहेको ओलीको भनाइ छ। सुरक्षा निकायको भूमिकासम्बन्धी प्रतिवेदन सार्वजनिक नगरिएको विषयमा समेत उनले प्रश्न उठाएका छन्।
उनले भदौ २४ का घटनामा संलग्नलाई उन्मुक्ति दिने वा अनुसन्धान रोक्ने कामले दण्डहीनता बढाउने बताएका छन्। आगामी दिनमा हिंसा र अराजकता दोहोरिन नदिन दोषीलाई कारबाही गर्दै लोकतान्त्रिक समस्याको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्नुपर्नेमा ओलीले जोड दिएका छन्।


