जेष्ठ ९ – जनकपुर -मधेसी समुदायलाई होच्याएको भन्दै प्रदेश २ सरकारले विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण भइरहेका तीनवटा कार्यक्रम बन्द गर्न संघीय सरकारसँग माग गरेको छ ।
गृह मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग, मधेसी आयोग, महान्याधिवक्ताको कार्यालय, प्रेस काउन्सिल नेपाल र चलचित्र विकास बोर्डलाई बोधार्थ गरिएको पत्रमा जनताको संवैधानिक तथा कानुनी हकको संरक्षण गर्न यस्ता विभेदकारी कार्यक्रमको निर्माण र प्रसारणमा रोक लगाउन अनुरोध गरिएको हो ।
प्रदेश सरकारको लेटरप्याडमा न्यायाधिवक्ता दीपेन्द्र झाले सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडालाई पत्र लेख्दै ‘कोरोना बिर्साउने गफगाफ’, ‘ह्वाट द फ्लप’ र ‘जोगिन्दर बोले प्रणामजी’ कार्यक्रमको निर्माण र प्रसारणमा रोक लगाउन माग गरेका हुन् ।
‘यी तीन टेलिभिजन कार्यक्रमसहित केही नेपाली चलचित्रमा सीमित व्यक्तिको रमाइलो तथा मनोरञ्जनका लागि कुनै खास वर्ग समुदाय (मधेसी) लाई शब्द, अभिनय र संकेतमार्फत होच्याउने, अपमान गर्ने, तल देखाउने र बेइज्जत गर्ने काम भइरहेको छ,’ पत्रमा भनिएको छ, ‘यस्ता कार्यले राष्ट्रिय एकता तथा सामाजिक सद्भावमा खलल पुर्याउन सक्छ ।’
‘यही पत्रलाई उजुरी मानेर यस्ता कार्यक्रममा संलग्नलाई छानबिन गरी कानुनबमोजिम कारबाही गर्न अनुरोध छ,’ पत्रमा उल्लेख छ । कांग्रेस नेता गगन थापाले पनि बिहीबार ट्विट गर्दै यस्ता कार्यक्रमप्रति रोष व्यक्त गरेका छन् ।
कृषि टेलिभिजनको कार्यक्रम ‘कोरोना बिर्साउने गफगाफ’मा प्रयोग भएका शब्द र विषयवस्तुले सिंगो मधेसी समुदायको आत्मसम्मानमा ठेस पुर्याएको उनले जनाएका छन् । ‘यो श्रम गर्नेको अपमान हो । कुनै पनि वर्ग, समुदायलाई अपमान र भेदभाव गर्नु संविधानविपरीत हो । यसबारे सम्बन्धित निकायको ध्यान जाओस्,’ थापाको ट्विटमा उल्लेख छ ।