
चितवन, भदौ २६ – चितवनको भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी हुँदा कारभित्र रहेका एक जनाको जलेर मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–९ वसन्तचोकमा शुक्रबार बिहान करिब ६ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा एक्कासि आगो लागेको हो।
कारमा आगलागी भएको जानकारी पाएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको जनाएको छ।
आगो निभाएपछि कारभित्र एक जना व्यक्ति जलेर मृत अवस्थामा फेला परेका थिए। मृतकको परिचय भने अहिलेसम्म खुल्न सकेको छैन।
आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। घटनाको कारण र मृतकको पहिचानबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।


