
काठमाडौं, असोज ६ – त्रिपुरेश्वरमा सोमबार आगलागी भएको बसका चालकको उपचारका क्रममा मृत्यु भएको छ। आगलागीमा गम्भीर घाइते भएका चालकको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो।
प्रहरी स्रोतका अनुसार सोमबार राति उपचारकै क्रममा उनको मृत्यु भएको हो। अस्पतालले चालकको शरीरको करिब ९० प्रतिशत भाग जलेको जनाएको छ। उनलाई आगलागीपछि सोमबार दिउँसो करिब १ बजे अस्पताल लगिएको थियो।
त्रिपुरेश्वरचोकको बस स्टपमा सोमबार मध्याह्न रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसमा अचानक आगलागी भएको थियो। घटनापछि बसमा आगो लाग्नुको कारणबारे प्रहरीले अनुसन्धान थालेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालकले नै बसमा आगो लगाएको देखिएको छ। आगलागी हुनुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको प्रारम्भिक विवरणसमेत बाहिर आएको छ।
घटनाको कारण, चालक र ट्राफिक प्रहरीबीच भएको विवाद तथा आगलागीको परिस्थितिबारे थप तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ। समितिको अनुसन्धानपछि घटनाबारे थप विवरण खुल्ने प्रहरीले जनाएको छ।


