
काठमाडौं, असोज ३ – नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर देखिएको विवाद थप पेचिलो बनेको छ। कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा नेतृत्वमा हुने महाधिवेशनमा आफू सहभागी नहुने स्पष्ट पारेपछि पार्टीभित्रको आन्तरिक विभाजन थप सतहमा आएको छ।
केही समययता देउवा समूहबाट दूरी बनाएर संस्थापन पक्षसँग नजिक देखिएका खड्का पछिल्लो समय फेरि देउवा पक्षसँग जोडिने संकेत दिएका छन्। यसअघि उनले समानान्तर गतिविधि र पार्टी विभाजनको पक्षमा आफू नरहेको बताएका थिए। उनका माग सम्बोधन भएको भन्दै उनीनिकट केही नेताहरू सानेपा पुगेर महाधिवेशन प्रक्रियामा सहभागी हुने निर्णयमा पुगेका थिए।
तर खड्काले अहिलेको अवस्थामा गगन थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुनु उचित नहुने बताएका छन्। सर्वोच्च अदालतमा कांग्रेससम्बन्धी मुद्दा विचाराधीन रहेकाले त्यसको अन्तिम फैसला नआउँदै महाधिवेशनमा सहभागी हुनु ‘चरम अनैतिक’ हुने उनको तर्क छ।
खड्काले कांग्रेस पार्टी विभाजनको अत्यन्त नजिक पुगेको दाबीसमेत गरेका छन्। महाधिवेशन रोक्न नसकिएपछि पार्टीभित्र उत्पन्न परिस्थितिले विभाजनको सम्भावना बढाएको उनको भनाइ छ।
‘अब यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ,’ खड्काले सामाजिक सञ्जालमा लेखेका छन्। उनले सम्भावित विभाजन रोक्न अझै पनि आफूहरूले अन्तिम प्रयास गरिरहेको बताएका छन्।
उनका अनुसार कांग्रेस विभाजित भए त्यसको प्रभाव पार्टीभित्र मात्र सीमित रहने छैन। मुलुकको पुरानो लोकतान्त्रिक दल विभाजित हुँदा समग्र लोकतान्त्रिक व्यवस्थामै बहुआयामिक असर पर्न सक्ने भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।
खड्काले यसअघि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेको प्रसंग पनि जोड्दै अहिलेको महाधिवेशनमा आफ्नो अडान त्यसैसँग मिल्दोजुल्दो रहेको बताएका छन्। अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा गगन थापाको हस्ताक्षरबाट टिकट लिएर निर्वाचन लड्नु उचित नठानेको र अहिले पनि अदालतको निर्णयअघि थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुन नसक्ने उनको भनाइ छ।
पार्टीको महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतमा परेको मुद्दाको अन्तिम टुंगो नलागेसम्म महाधिवेशन रोक्न माग गरिएको भए पनि अदालतले तत्काल रोक लगाउन आवश्यक नदेखाएपछि कांग्रेसभित्र अलग–अलग महाधिवेशनको अवस्था सिर्जना भएको खड्काले उल्लेख गरेका छन्।
अब पार्टीभित्रको विवाद समाधानका लागि अदालतको निर्णय महत्वपूर्ण हुने संकेत गर्दै खड्काले सर्वोच्च अदालतसँग मुद्दालाई अग्राधिकारमा राखेर छिटो फैसला गर्न आग्रह गरेका छन्। अदालतले गर्ने अन्तिम निर्णय आफूहरूलाई स्वीकार्य हुने उनले बताएका छन्।


