
बारा, भदौ २५ – बारा जिल्ला अदालतले जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दुई नाबालकलाई बाल सुधारगृह पठाउने आदेश दिएको छ।
न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले अर्को आदेश नभएसम्म उनीहरूलाई बाल सुधारगृहमा राख्न आदेश दिएको हो। प्रहरीले दुवैविरुद्ध अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ। अदालतले पीडित पक्षलाई उपलब्ध हुने गरी दुई लाख रुपैयाँ क्षतिपूर्ति दिनसमेत आदेश दिएको छ।
बालिका साउन ३१ गते बेपत्ता भएकी थिइन् भने भदौ २ गते भक्तिनगरस्थित एक घरमा मृत अवस्थामा फेला परेकी थिइन्। घटनामा १२ जना पक्राउ परेकामध्ये कानुनी प्रावधानअनुसार दुई नाबालकलाई अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।
अदालतले प्रहरी प्रतिवेदन, स्वास्थ्य परीक्षण तथा पोलिग्राफ परीक्षण रिपोर्टसहितका विवरण अध्ययन गरेर उनीहरूलाई बाल सुधारगृह पठाउने निर्णय गरेको हो।
घटनामा पक्राउ परेका अन्य १० जनालाई पनि अदालतमा पेस गर्ने तयारी भइरहेको प्रहरीको भनाइ छ।


