
नुवाकोट, भदौ १९ – नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूले उद्धार टोलीको आवाजको जवाफ दिएका छन्। सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएपछि उद्धारमा थप आशा पलाएको छ।
उद्धार टोलीले सुरुङभित्र रहेकाहरूलाई नआत्तिन आग्रह गर्दै आफूहरू उद्धारका लागि आएको जानकारी गराएको थियो। त्यसको जवाफमा भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको बताइएको छ। यसबाट सुरुङभित्र फसेका व्यक्तिहरू जीवित र सचेत अवस्थामा रहेको पुष्टि भएको हो।
सांसद श्रीराम न्यौपानेका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धारलाई तीव्रता दिएको छ। सुरुङको अवस्थालाई ध्यानमा राख्दै सुरक्षाका उपाय अपनाएर उद्धार कार्य अघि बढाइएको छ।
फसेकाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न घटनास्थलमा थप प्राविधिक जनशक्ति र उद्धार उपकरण परिचालन गरिएको छ। भित्रबाट आएको प्रतिक्रियापछि उद्धार टोली थप उत्साहित भएर काममा जुटेको छ।


