
काठमाडौं, भदौ १७ – लगातारको वर्षाका कारण देशका केही ठूला नदीमा पानीको बहाव बढेको छ। सुनकोशी, बुढीगण्डकी र महाकाली नदीको जलसतह सतर्कता तहभन्दा माथि पुगेपछि नदी तटीय क्षेत्रमा जोखिम बढेको हो।
बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ६ बजे सिन्धुलीको खुर्कोटमा सुनकोशी नदीको जलसतह ७.६२ मिटर मापन भएको छ। उक्त स्थानमा ७.५ मिटरलाई सतर्कता तह तोकिएको छ। गोरखाको आरुघाटमा बुढीगण्डकीको जलसतह ३.६ मिटर पुगेको छ भने त्यहाँको सतर्कता तह ३.५ मिटर हो।
त्यसैगरी, डडेलधुराको पारीगाउँमा महाकाली नदीको जलसतह ६.३७ मिटर पुगेको छ। त्यहाँ ५.८ मिटरलाई सतर्कता तह मानिन्छ। महाकाली र सुनकोशीको बहाव स्थिर रहे पनि बुढीगण्डकीको जलसतह भने केही घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ।
नदीमा जलसतह बढेकाले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। वर्षा जारी रहेमा नदीको बहाव थप बढ्न सक्ने भएकाले सुरक्षित स्थानबारे पूर्वतयारी गर्न र जोखिमयुक्त क्षेत्रमा नबस्न अनुरोध गरिएको छ।


