
नवलपरासी, साउन ३० – पश्चिम नवलपरासीमा १५ वर्षीया छात्रालाई सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा अश्लील भाव झल्किने सन्देश पठाएको आरोपमा एक विद्यालयका प्रिन्सिपल पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुस्ता गाउँपालिका–१, सिङाहास्थित न्यू लाइफ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल ४६ वर्षीय भरत न्यौपाने रहेका छन्।
प्रहरीका अनुसार न्यौपानेले आफ्नै विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई फेसबुक म्यासेन्जरमार्फत अश्लील भाव झल्किने सन्देश पठाएको आरोप छ। घटनाबारे जानकारी पाएपछि छात्राको परिवारले प्रहरीमा जाहेरी दिएको थियो।
जाहेरी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरीले शनिबार राति न्यौपानेलाई पक्राउ गरेको हो। पक्राउपछि उनलाई अदालतबाट म्याद थप गराई घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक रेशमलाल पौडेलले घटनाबारे विभिन्न पक्षबाट अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रहरीले सामाजिक सञ्जालमा आदानप्रदान भएका सन्देश तथा अन्य प्रमाणहरू समेत अनुसन्धानको दायरामा राखेको जनाएको छ।
घटनासँग सम्बन्धित म्यासेज सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रिन्सिपलमाथि लागेको आरोप बाहिर आएको थियो। प्रहरीले अनुसन्धानपछि घटनाको वास्तविकता र कानुनी जिम्मेवारीबारे थप प्रक्रिया अघि बढाउने जनाएको छ।


