
कालिकोट, साउन २३ – पलाँता गाउँपालिका–९ मा रहेको पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार तथा अस्पतालमा तोडफोड गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूले अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि अभद्र व्यवहार गर्नुका साथै अस्पतालभित्र अनधिकृत रूपमा प्रवेश गरी सामानहरू तोडफोड गरेका थिए।
प्रहरी निरीक्षक सुरेश खत्रीले घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।
शुक्रबार दिउँसो अस्पतालका मेडिकल अफिसर डा. अली हैदर रैन र नर्स शान्ता गिरीमाथि आक्रमण भएको थियो। त्यसपछि रातिको समयमा अस्पतालको ढोका फुटाएर फार्मेसीमा प्रवेश गरी औषधि राखिएका दराज र र्याकसमेत लडाइएको प्रहरीले जनाएको छ।
अस्पतालभित्र भएको तोडफोडको दृश्य सीसीटीभी क्यामेरामा समेत कैद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
