काठमाडौं:- नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक रहेका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिएर उनी बाहिरिएसँगै विद्युत कटौती बढेको गुनासो बढ्न थालेको छ। व्याप्त जनगुनासो बढेपछि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको सचिवालये विना जानकारी विद्युत कटौती भए सिधा सम्पर्क गर्न आह्वान समेत गर्यो । तर, पनि विद्युत कटौतीको क्रम रोकिएको छैन ।
यद्यपि प्राधिकरणले सूचना दिएरै विद्युत कटौती गर्न थालेको छ।विभिन्न स्थानमा मर्मत सम्भार तथा पोल स्थानान्तरण लगायतका कारणले विद्युत कटौती गर्न परेको प्राधिकरणले प्रष्ट्याएको छ। नेपाल विद्युत् प्रधिकरणका अनुसार आज शनिबार पनि देशका विभिन्न स्थानमा विद्युत कटौती भइसकेको छ । कतै हुने क्रममा छ ।
प्राधिकरणका अनुसार आज धनकुटा, चितवन, नवलपुर, पोखरा र काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत हुने छैन । ललितपुरको लगनखेल र पुल्चोक वितरण केन्द्र तथा भैंसेपाटी उपवितरण केन्द्र अन्तर्गत पर्ने खोकना फिडरमा इन्टरब्रान्चको मिटरिङ युनिट परिवर्तन गर्नु पर्ने भएकाले दिउँसो ११ बजेदेखि २ बजेसम्म बत्ती काटिने छ ।
यस्तै बालाजु वितरण केन्द्रअन्तर्गत पर्ने विष्णुमति फिडरमा चक्रपथ विस्तार कार्य जारी रहेकाले १० बजेदेखि ३ बजेसम्म बत्ती काटिने बताइएको छ।यस्तै वाइपास विद्युत् संरचना सार्न तथा व्यवस्थापन गर्न चितवनको भरतपुर र माडीमा बिहान ७ बजेदेखि नै विद्युत कटौती गरिएको दिउँसो १ बजेसम्म बत्ती नआउने प्राधिकरणले जनाएको छ ।
चितवनकै मेघौली, नारायणगढ, गीतानगर तथा रामपुरमा बुस कटिङ गर्न ट्रान्स फर्मरको इन्कमिङ भीसीबी परिवर्तन गर्न सोही समयमा बत्ति काटिने बताइएको छ । चितवनको अन्य केही स्थानमा पोल सार्न र फिडर मर्मत गर्न बत्ती काटिने छ । नवलपुरको कावा सोती र अरूणखोलामा पनि बुस कटिङ गर्न बिहान ८ बजेदेखि विद्युत कटौती भएको छ ।
त्यस क्षेत्रको विद्युत दिउँसो ४ बजेपछि सुचारू हुने छ । पोखराको हेम्जामा स्मार्ट मिटर परिवर्तन गर्न १० बजे देखि ५ बजेसम्म र धरानदेखि धनकुटासम्म बुस कटिङ गर्न शनिबार १० बजेदेखि ५ बजेसम्म विद्युत कटौती गरिने विद्युत प्राधिकरणले जनाएको छ ।