
मदाने गुल्मी, २३ असार।
मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङ्गमा कृषकहरुले गरेको टमाटर खेती डामाडोल भएको छ । कृषकहरुले लगाएको सबै टमाटर कुहिदा कृषकहरु चौपटमा परेका हुन । लगाएको खेति टमाटर कुहिदा कृषकहरुले चिन्ता व्यक्त गरेका छन् ।
मदाने गाउँपालिकाले संचालन गरेको कोभिड कृषि कार्यक्रम अन्तर्गत कृषकहरुले गरेको विभिन्न कृषि खेति मध्ये टमाटर खेतिमा टमाटरहरु कुहिदै गएका छन । “बाहिरबाट हेर्दा राम्रो देखिने तर भित्र काटेर हेर्दा पुरै टमाटर कुहिएको छ” कृषक लालबहादुर बिष्टले बताउनुभयो । कृषक टेक बहादुर कुवरले चिन्तित हुँदै भन्नुभयो ” लगानी लगाएर दुईवटा टनेलमा गरेको खेती चौपट भयो, आश सबै मर्यो।” अब गाउँ गाउपालिकाले कोभिड कृषि कार्यक्रम अन्तर्गत अनुगमनमा आउदा के देखाउने भनेर पनि कृषकहरु चिन्तितमा छन ।
टमाटर खेती वरिपरि ससाना किराहरु घुम्छन ती किराहरुकै कारण टमाटर कुहिएको आशंका गरिएको छ । कृषकहरु घरेलु उपाए अपनाए तर कुनै सुधार आएन र कृषकहरु आजित रहेको बताएका छन । त्यसो त यसबारे गाउपालिकाको कृषि शाखालाई कृषकहरुले जानकारी गराएको तर गाउँपालिकाले कुनै व्यवस्था नगरेको कृषकहरुको गुनासो छ ।
टमाटरको बिरुवा उम्रने बेला नै स्याहार सुसार तथा बिरुवाको पातमा र फुलमा किटनाशक अौषधी छर्कनु पर्थ्यो, अहिले छर्केर कुनै सुधार नहुने अग्लुङ्गका पशु तथा कृषि प्राविधिक बोम बहादुर खत्रीले बताउनुभयो । उहाँले टमाटर खेति मलखाद जस्ता किरा आउने ठाउँ नजिक नगर्न सुझाव दिनुभएको छ ।यसको समाधान कसरी गर्न सकिन्छ वडाबाट गाउँपालिका कृषि शाखामा कुरा अगाडि बढाएर समाधान खोजिने प्राविधिक खत्रीले बताउनुभएको छ ।


