
जनकपुरधाम, भदौ ४ – बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ भक्तिनगरमा तीन वर्षीया बालिकाको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। अनुसन्धानका क्रममा बालिकालाई प्रलोभनमा पारेर घटनास्थलसम्म पुर्याएको आरोपमा म्याजिकका सहचालक पक्राउ परेका हुन्।
प्रहरीका अनुसार साउन ३१ गते बिहान घरबाट हराएकी बालिकाको शव केही दिनपछि भक्तिनगरस्थित एक घरको खाली कोठामा फेला परेको थियो। शव भेटिएपछि जिल्ला प्रहरी कार्यालय बारासहितको टोलीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा बालिकालाई ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक सुमन थापाले चकलेट दिने भन्दै फकाएर लगेको खुलेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका लागि कुकुरसहितको प्रहरी टोली परिचालन गरिएका बेला थापा पनि प्रहरीसँगै शव खोज्ने कार्यमा सहभागी थिए।
सोही क्रममा तालिमप्राप्त कुकुरले थापातर्फ संकेत गरेपछि प्रहरीले उनलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार प्रारम्भिक बयानका क्रममा थापाले बालिकामाथि जबर्जस्ती करणीपछि हत्या गरेको स्वीकार गरेका छन्।
प्रहरीले घटनामा म्याजिक चालक प्रमोद चौधरीको समेत संलग्नता रहेको आशंकामा उनलाई पनि पक्राउ गरेको छ। जितपुरसिमरा–१ निवासी २४ वर्षीय चौधरीविरुद्ध पनि जबर्जस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएकोबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। घटनासँग सम्बन्धित थप प्रमाण संकलनका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरी अनुसन्धानलाई अघि बढाइएको छ।
