
काठमाडौं, साउन १७ – पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जासहित अन्य आरोहीहरूको शव उद्धार अभियानले गति लिएको छ। उद्धार टोलीले आइतबार शवहरू क्याम्प–१ सम्म ल्याउने तयारी गरेको जनाएको छ।
ग्राउन्ड टिमका अनुसार पहिलो चरणमा शवलाई क्याम्प–१ मा सुरक्षित रूपमा झारिनेछ। त्यसपछि मौसम अनुकूल भए सोमबार जापानी क्याम्पसम्म पुर्याइने र त्यहाँबाट हेलिकप्टरमार्फत थप सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना छ।
उद्धार अभियानमा संलग्न टोलीले जोखिमपूर्ण मौसम र कठिन भौगोलिक अवस्थाबीच पनि शवहरू सम्मानपूर्वक स्वदेश फर्काउने लक्ष्यका साथ काम गरिरहेको जनाएको छ।
गत १४ साउन ब्रोड पिक क्षेत्रमा आएको शक्तिशाली हिमपहिरोमा निर्मल पुर्जाको नेतृत्वमा रहेको टोलीका १० जना आरोही बेपत्ता भएका थिए। तीमध्ये ६ जना नेपाली थिए। निर्मल पुर्जाको निधन भएको पुष्टि शनिबार भएको थियो भने अन्य बेपत्ता आरोहीहरूको खोजी र उद्धार कार्य निरन्तर जारी रहेको छ।


