
वीरगञ्ज, साउन १२ – वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले कार्यस्थलमा असुरक्षा बढेको र प्रशासनबाट उचित व्यवहार नभएको भन्दै सामूहिक रूपमा राजीनामा दिएका छन्। आन्दोलन चर्किएसँगै अस्पतालको आकस्मिकसहित अधिकांश सेवा प्रभावित बनेको छ।
अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार करिब ७० जना चिकित्सकमध्ये ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहलाई राजीनामा बुझाइसकेका छन्। बाँकी चिकित्सकले पनि हस्ताक्षर संकलन गरिरहेको र छिट्टै सामूहिक रूपमा राजीनामा दिने तयारीमा रहेको उनले बताए।
उनका अनुसार चिकित्सकमाथि भएको आक्रमणमा संलग्न व्यक्तिलाई कारबाही गर्ने आश्वासनपछि चिकित्सकहरू प्रशासनसँग छलफल गर्न पुगेका थिए। तर, छलफलका क्रममा प्रशासनिक नेतृत्वबाट अपमानजनक व्यवहार भएको, प्रहरी परिचालन गरेर चिकित्सकलाई नियन्त्रणमा राखिएको र धम्कीपूर्ण वातावरण सिर्जना गरिएको आरोप चिकित्सक पक्षले लगाएको छ।
यही घटनापछि चिकित्सकहरूले सुरक्षित कार्य वातावरण नभएसम्म सेवा दिन नसकिने निष्कर्ष निकाल्दै सामूहिक राजीनामा दिने निर्णय गरेका हुन्। उनीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा पनि माग गरेका छन्।
चिकित्सकहरूको आन्दोलनका कारण अस्पतालको सेवा प्रभावित बनेको छ भने बिरामीहरू उपचारका लागि सास्ती बेहोर्न बाध्य भएका छन्। सबै चिकित्सकले राजीनामा कार्यान्वयन गरे अस्पतालको सेवा अझ गम्भीर रूपमा प्रभावित हुने देखिएको छ।
यसैबीच, नेपाल चिकित्सक संघले पनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएका आक्रमणको विरोधमा मंगलबार देशभर आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले दोषीमाथि तत्काल कानुनी कारबाही, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित र यस्ता घटना दोहोरिन नदिने वातावरण बनाउन सरकारसँग माग गरेको छ।
उल्लेखनीय छ, गत साउन ८ गते नारायणी अस्पतालमा चिकित्सक डा. प्रमोद राममाथि कुटपिट हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो। घाइते डा. रामको हाल काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।


