
मुगु, साउन ९ – लगातारको वर्षापछि मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथिबाट खसेको ढुंगासहितको पहिरोले एक बालकको ज्यान गएको छ भने उनका बाबुआमा घाइते भएका छन्।
शनिबार बिहान करिब ४ बजे भएको घटनामा पेमा लामाको घरमा भाडामा बस्दै होटल सञ्चालन गरिरहेका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका जगनाथ बडुवालको परिवार पहिरोको चपेटामा परेको हो। पहिरो खस्दा उनीहरू सुतिरहेको अवस्थामा घर पुरिएको प्रहरीले जनाएको छ।
प्रहरी टोलीले तत्काल उद्धार अभियान सञ्चालन गर्दै पहिरोमा च्यापिएका ३ वर्षीय रमेश बडुवाललाई बाहिर निकाली पुलु स्वास्थ्य चौकी पुर्याएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्यकर्मीले पुष्टि गरेका छन्।
घटनामा जगनाथ बडुवाल र उनकी श्रीमती सृजना बडुवाल सामान्य घाइते भएका छन्। उनीहरूको स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको बताइएको छ।
पहिरोले घर पूर्ण रूपमा ध्वस्त बनाएको छ। थप जोखिमको सम्भावनालाई मध्यनजर गर्दै नजिकै रहेका आठ घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। स्थानीय प्रशासन र प्रहरीले प्रभावित क्षेत्रमा निगरानी बढाउँदै थप क्षति हुन नदिन आवश्यक सतर्कता अपनाइरहेका छन्।


