लैंगिक हिंसा विरुद्धको विश्वव्यापी १६ दिने अभियान चलिरहेकाे छ । साेहि अबसरमा रुपन्देहीमा पनि बिभिन्न समाजिक सघं संस्थाहरुले पनि फरक फरक कार्यक्रम गरिरहेका छन । आज पनि समानताका लागि आवाज नेपाल, लायन्स क्लब अफ बुटवल स्टार र संचारिका समूह लुम्बिनीले लौङ्गीक समानताको लागी शिक्षा र नागरिक जागरण सार्वजनिक संवाद कार्यक्रममा सम्पन्न गरेका छन।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका शिक्षा अधिकृत कोपिला ज्ञवालीले स्रोत र साधन पुरुषको हातमा हुदा धेरै लैंगिक हिंसा र विभेद महिलामाथि भएको बताइन् । उनले महिलालाई स्रोत र साधनमा पुर्याउन र विभेद हुन नदिन औपचारिक शिक्षा र जागरण अभियानमा जोड्नुपर्ने सुझाब दिइन् । विद्यालयहरुमा पनि बालबालिकालाई लैंगिकमैत्री व्यवहार गर्न र हिंसा विरुद्ध प्रतिकार गर्न सिकाउनुपर्ने उनले बताइन् ।
नविन औद्योगिक कदरबहादुर रीता माविका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले छोरालाई बढी प्राथमिकता र सुबिधा दिने तर छोरीलाई सुबिधा नदिने खालका क्रियाकलाप समाजमा प्रसस्त रहेकाले त्यसको असर विद्यालयमा पनि देखिने बताए । यद्यपि बालबालिकामा समान व्यवहार र चरीत्र निर्माणका लागि विद्यालयमा पाठ्यक्रमसंगै अतिरिक्त क्रियाकलापद्धारा लैंगिकमैत्री व्यवहार सिकाउने र अभ्यास गराउने गरेको उनले जनाए ।
कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापाले विद्यालय धेरै बालबालिकाको भविष्य निर्माणगर्ने स्थल भएकाले नागरिक जागरणका अभियान पनि विद्यालय केन्द्रीत गर्न आग्रह गरे । उनले विद्यालयमा बालबालिकाबाट गराइने जागरणका कार्यक्रमले बालबालिकासंगै तिनका अभिभावकलाई बुझाउन र लैंगिकमैत्री व्यवहार कार्यान्वयन गराउन सहज हुने उनले जनाए ।
सामाजिक अभियन्ता ओमी पुनले रुढीवादी संस्कारका कारण जानेर वा नजानेर अहिले पनि महिला भएकै कारण भेदभाव र हिंसा भएको बताउदै त्यसको निराकरणका लागि सबै जुट्नुपर्ने बताइन् । उनले शिक्षा र ज्ञानले नै व्यक्तिको गलत व्यवहार फेर्न सकिने भएकाले त्यसमा नागरिक जागरण आवश्यक रहेको बताइन् ।
दुरदर्शी कृषि महिला सहकारी संस्थाकी अध्यक्ष मीना कार्कीले महिला कमजोर छन् र उनीहरुलाई अधिनमा राख्नुपर्छ भन्ने मानसिकताका कारण शहरी क्षेत्र र शिक्षित समुदायमा पनि हिंसा भएको बताइन् । लैंगिक हिंसा हटाउन र लैंगिक समानता कायम राख्न घरपरिवारदेखि, विद्यालय र सामाजिक संघसस्थामा सचेतनाका कक्षा चलाउनुपर्ने उनले औंल्याइन् ।
समानताका लागि आवाज नेपालकी अध्यक्ष रोजी पुनले बालबालिका र युवा पुस्तामा हिंसा सहने होइन प्रतिकार गर्नुपर्छ भन्ने भावनाको विकास गराउनुपर्ने बताइन् । उनले कुनै पनि भेदभाव वा हिंसाका कारण समस्या भएकालाई निशुल्क सामाजिक मनोपरामर्श चलाइरहेको बताइन् । ओरेक नेपाल बुटवलकी झरना अर्यालले लैंगिक भेदभाव र हिंसाका घटना बताउन नसकदा धेरै किशोरकिशोरी र युवा पुस्ता आत्महत्याको शिकार भएकाले त्यसलाई रोक्न सामाजिक मनोपरामर्शका कार्यक्रम चलाइरहेको जानकारी दिइन् ।
बुटवल बहुमुखी क्याम्पसका स्वभीयू अध्यक्ष दुर्गाबहादुर एमसीले लैंगिक समानताका लागि महिला लक्षित समताका कार्यक्रम बढाउनुपर्ने बताए । बालबालिका र युवा पुस्तामा यस्ता छलफल चलाउन सके त्यसको प्रभाव पर्ने र लैंगिक समानतामूलक समाज निर्माण हुने उनले बताए । लुम्बिनी बौद्ध विश्विद्यालयमा कानुनकी विद्यार्थी मन्जीला ज्ञवालीले छोरीलाई छोरीजस्तै भएर जीउने आधार तयार गर्न घरबाटै लैंगिक भेदभावपूर्ण व्यवहार हटाउन आग्रह गरिन् ।
उमेर र समय अनुसार समुदायमा लैंगिक असमानता र विभेदका अवशेष रहेकाले शिक्षा र जागरणद्धारा तिनलाई हटाउनुपर्ने उपस्थित सरोकारवालाहरुले सुझाब दिएका छन् । त्यसकालागि विद्यालयबाटै शिक्षा र नागरिक जागरण आवश्यक रहेको उनीहरुले बताए । धेरै लैंगिक हिंसा महिलामाथि भएको बताउदै सरोकारवालाहरुले महिला लक्षित समतामूलक कार्यक्रम चलाउन सके हिंसा घट्ने र समानता हुने उनीहरुले बताए ।
कार्यक्रममा लैंगिक समानताका लागि शिक्षा र नागरिक जागरणबारे संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । संचारिकाका कोषाध्यक्ष उषाकिरण पन्थ र सदस्य रिया बस्नेतले सहभागीलाई हिंसा विरुद्ध प्रतिवद्धता गराउदै सेतो रिवन प्रदान गरेका थिए । कार्यक्रममा विद्यालय तथा क्याम्पस तहका विद्यार्थी, विद्यार्थी संगठन, प्रधानाध्यापक र महिला लक्षित संघसस्थाका प्रमुखहरुको सहभागिता थियो ।