दार्चुला । महाकाली नदी माथिको पुलले वारि दार्चुला र पारि भारतको धार्चुला जोड्छ । भारतले महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर जिल्ला सदरमुकाम खलङ्गा बजार डुबान ,कटान र बगाउने गरीे सीमा क्षेत्रमा निरन्तर अनधिकृत पक्की संरचना बनाइरहेको बेला पनि सरकार मौन रहेको भन्दै चौतर्फी आलोचना बढिरहेको छ ।
भारतले पछिल्ला दिनहरुमा तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलंगा जोखिममा पर्न सक्ने भन्दै स्थानीय आक्रोशित छन् । भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप उनीहरुले लगाउँदै आएका छन् । भारतले महाकाली नदीको धार परिवर्तन हुने गरी निर्माण गरिरहेको तटबन्धको विरोध गरिरहेका नेपाली नागरिकमाथि आइतबार अपराह्न करिब ४ बजेतिर दार्चुला पारि भारतको धार्चुलाबाट ढुंगा प्रहार भयो ।
भारतीयको ढुङ्गा प्रहारबाट बांगाबगरस्थित कैलाशपति आधारभूत विद्यालय नजिक खेलिरहेका चार बालक घाइते भए । बच्चाहरु विद्यालय नजिक खेलिरहेका थिए । पारिबाट प्रहार भएको ढुंगाले चारै जनालाई चोट लाग्यो । ती मध्येका १३ वर्षीय प्रेमसिंह कुँवर पनि एक हुन् । उनको निधारमा चोट लागेको छ । ढुंगा हानाहानपछि आक्रोशित भएका सदरमुकाम खलङ्गाका स्थानीयले दार्चुलाको नेपाल–भारत जोडने महाकाली नदीमाथिको अन्र्तराष्ट्रिय पुल नाकामा तालाबन्दी गरेर आवतजावत बन्द गर्नुका साथै भारतीय पक्षको विरोधमा आन्दोलन गरेका थिए ।
ढुंगा हानाहानपछि बन्द गरिएको अन्र्तराष्ट्रिय पुल नाका प्रहरीले सामान्य बल प्रयोग गरी केही घण्टामै खुलाएको थियो । नाका खुलाएपछि वारि र पारि दुबै देशतर्फ फसेका सयौँ यात्रु आआफ्नो गन्तव्यतर्फ लागेका थिए । आइतबारको घटनापछि प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायसहितको टोलीले भारततर्फ गएर उताको प्रशासनसँग छलफल गरेको थियो ।
केही समय यता सीमा क्षेत्रमा तटबन्धको विषयलाई लिएर द्धन्द्ध सुजना भइरहेको छ । त्यो समुदायस्तरमा समेत फैलिने चिन्ता अधिकारीहरुले गरेका छन् । कालापानीको मुद्दाले पनि बल पाइरहेको अवस्थामा पछिल्लो तनावले उनीहरु झस्किएका छन् । महाकाली नदीको बहाव साँघुरो पार्दै नदीका चार भङ्गालोलाई भारतले एकत्रित पारेको छ । भारतीय पक्षले बलपूर्वक नेपालतर्फ नदीको धार सोझ्याएको भन्दै स्थानीयले विरोध गर्दै आएका हुन् ।
भारतले पछिल्ला दिनमा नदीको धार परिवर्तन हुने गरी निर्माण गरिरहेको तटबन्धले सदरमुकाम खलंगा जोखिममा पर्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप उनीहरुले लगाउदै आएका छन् । सीमामा बारम्बार तनाव हुँदा पनि सरकार मुकदर्शक बनेको स्थानीयको आरोप छ ।