रिया बस्नेत क्षेत्री राप्ती प्राविधिक शिक्षालयका सबै भवनहरु अहिले मर्मत सगैँ रंगरोगन गरी उक्त संरचनाहरु चिटिक्क सिंगारिदै छन । बुटवलमा रहेकाे अस्थायी मुकाम अहिले दाङकाे देउखुरीमा सरेकाे छ । २०७७ साल असोज २० गते प्रदेशको राजधानी देउखुरी सार्ने निर्णय भएपनि गत मंसिर १९ गते राजधानी सारिएकोे हो ।
लुम्बिनी प्रदेश राजधानीका संरचना दाङ सारे पछि त्यहाँका पुराना संरचनाहरु मर्मत गर्न थालिएकाे छ । विभिन्न मन्त्रालय र मातहत कार्यालय यहाँ आउने भएपछि अहिले प्रशासनिक केन्द्र मौरीघाटमा रहेको राप्ती प्राबिधिक शिक्षालयमा सिगार्न थालिएको छ । पूर्वाधार निर्माण गरेर राजधानी सार्न दबाब बढेका बेला मुख्यमन्त्री कुलप्रसाद केसीले मुख्यमन्त्री कार्यालय र सचिवालयका समान सारेपछि कार्यालय स्थापना गर्ने चटारो छ ।
प्राविधिक शिक्षालयमा कार्यालय बनाउन कोठा तयार, रंगरोगन, आँगन निर्माण, झाडी फडानीका काम भइरहेका छन् । शिक्षालयका कोठा रंगरोगन गर्न थालिएको छ । ती कोठामा कार्पेट र फर्निचर राख्न थालिएको छ । रुपन्देही लगायत जिल्लामा राजधानी सार्ने शैलीको आलोचना भइरहेका बेला मुख्यमन्त्री केसी आफैं शिक्षालय सरसफाईमा खटिएका छन् । कार्यालय व्यवस्थापनका लागि राप्ती गाउँपालिका र सरोकारवाला समेटेर राजधानी व्यवस्थापन तथा सहजीकरण समिति बनाइएको छ ।
अहिले राप्ती प्राविधिक शिक्षालयको भवन मर्मत गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बनाएको छ । मुख्यमन्त्रीको निवास र प्रमुख सचिवको निवास तयारी पुरा गरिएको छ ।मुख्यमन्त्री केसी शुक्रबारबाट राप्ती गाउँपालिकाको कार्यालयमा बस्न थालेका छन् ।
प्रदेशसभा भवन तयारीका लागि पनि रातदिन काम भइहेको छ । प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक स्थायी राजधानीमा नै बसाउने तयारी भैरहेको र नवनिर्वाचित प्रदेश सांसदहरुलाई पनि सपथ ग्रहण गराउनकाे लागी सबै संरचना मर्मतकाे कार्य पनि तिब्र रुपमा गरिएकाे मुख्यमन्त्री केसीले बताए ।