सभापति लामिछानेले भारतसामु सरकारको वर्षौंको निरीहताको कारण के होला भनेर प्रश्नसमेत गरेका छन् । ‘वर्षौंको यो निरीहताको कारण के होला? आफ्नो सीमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नुभन्दा अर्को महत्त्वपूर्ण कुरा के हुन्छ राज्यको ? आफ्नो सीमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन, अन्तर्राष्ट्रिय सन्धि सम्झौताका पाना-पाना पल्टाएर बुँदाबुँदा केलाउँदै आफ्नो हक जोगाउन किन सक्दैन सरकार ? आफ्नो हक पाउनु भनेको कसैको विरोध गर्नु होइन, कसैसँग जोरी खोज्नु होइन भन्ने कूटनीति बनाउन केले रोक्छ सरकारलाई ? राज्य यस्तो हुनु हुँदैन सरकार अब यसरी चल्नु हुँदैन,’ उनले ट्वीटरमा लेखेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार नै विज्ञप्ति जारी गर्दै महाकालीको बहाव नेपालतर्फ धेकेलेर भारतले अनधिकृत पक्की संरचना बनाउँदै गरेकोमा नेपाली नागरिकहरुले त्यसको प्रतिरोध गर्दा भारतीय पक्षबाट हानिएको ढुंगाले नेपाली बालबालिका घाइते भएको र एक वर्षभित्र ३ पटक ढुंगामुढा भइसकेको समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अन्तर्राष्ट्रिय सन्धि सम्झौता भारतसँगको हाम्रै द्विपक्षीय सन्धि सम्झौताविपरीत कार्य भइरहँदा पनि सरकार मुकदर्शक बनेर रमिता मात्रै हेरिरहनु हदैसम्मको गैर-जिम्मेवार कार्य भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै सरकारको गैरजिम्मेवारीले स्थानीय नेपाली नागरिकहरु प्रतिरोधमा उत्रिनुपर्ने बाध्यता भएको र विभिन्न संरचना बनाएर महाकालीको बहाव नेपालतर्फ धकेलिँदा र त्यहाँका स्थानीय नेपाली नागरिकहरु प्रतिरोधमा उत्रिरहँदा ठूलो दुर्घटनाको जोखिम बढाएको पनि विज्ञप्तिमा भनिएको छ ।
दार्चुला सदरमुकाम खलंगा र भारतीय भूमि धार्चुला जोड्ने पुलमुनि महाकालीको बगर मिचेर भारतले बनाएको तटबन्ध । तस्बिर : मनोज बडू/कान्तिपुर
‘भारतीय पक्षबाट महाकालीको बहाव परिवर्तन गर्ने, नदी तथा किनारमा अनधिकृत संरचना निर्माण गर्ने, ढुंगामुढा गर्ने जस्ता कार्यहरु आपसी सदभाव बिगार्ने, दुखद, अतिक्रमणकारी र भर्त्सनायोग्य छन्,’ पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यहरू नगर्न, बनाउँदै गरिएका र बनिसकेका अनधिकृत संरचनाहरु भत्काउन भारत सरकारको ध्यानाकर्षण गराउँदै नेपाल सरकारले भारतसँगका हाम्रा र अन्तर्राष्ट्रिय सन्धि सम्झौताका आधारमा आफ्नो सीमा र नागरिकको रक्षा गर्न यथाशिघ्र कूटनीतिक पहल सुरु गरिहाल्न, घाइते तथा पीडितहरुको औषधी उपचार, सुरक्षाको बन्दोबस्त गर्दै सीमा सम्पदाको संरक्षक र नागरिकलाई अभिभावकत्वको अनुभूति हुने गरी प्राथमिकताका साथ कार्य गर्न आग्रह गर्दछौं ।’