राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव बहादुर थापा(सूर्यवंशी)ले संविधानको रक्षा आम सबैले गर्नुपर्ने बताएका छन् । बुटवलमा बाम लोकतान्त्रिक गठबन्धनको महिला, युवा तथा भूपू सैनिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुक जोगाउनको प्रतिगमनलाई परास्ता गरी संविधानलाई जोगाउनुपर्नेमा जोड दिए ।
रुपन्देही क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका थापाले मुलुकलाई अधिनायबाद र निरङ्कुशता बाट बचाउन जरुरी रहेकोले अहिलेको सत्ता गठबन्धनलाई जिताउन आग्रह गरे । उनले देशमा आधाभन्दा धेरै रहेका महिला तथा युवा पुस्ताहरूको सक्रियता र एजेन्डालाई समेत आफूले लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले भूपू सैनिकहरूले आफ्नो कार्यकालमा देशको सेवामा काम गरेजस्तै सेवा गर्ने उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे ।
उनले आफूहरूको गठबन्धन अग्रगामी शक्तिहरूको गठबन्धन रहेको बताउँदै यो निर्वाचनले प्रश्चगामीहरुको समूहलाई पराजित गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘देश बचाउनु भनेको देशको मूल कानुन संविधानको रक्षा गर्नु हो । हाम्रो गठबन्धन भनेको देश बचाउन गरिएको गठबन्धन हो । हामी एकजुट छौँ हाम्रो गठबन्धनका उम्म्मेद्वारलाई जिताउनुहोस् । ’
नेकपा एमालेले बहुमत पुर्याएर पनि देशमा राजनीतिक स्थिरताको ग्यारेन्टी गर्न नसकी संविधान नै धराशायी बनाएको आरोप लगाउँदै मुलुकलाई समृद्धि बनाउन भ्रष्ट्राचार विरुद्ध निर्णय अभियान नै बनाएर लाग्नुपर्ने उल्लेख गरे ।
३ पटक सम्म यो क्षेत्रबाट निर्वाचन विष्णु पौडेललाई लक्षित गर्दै थापाले झुम्साको पानीकै राजनीति गरेको आरोप लगाए । उनले भने, ‘काठमाडौँमा मेलम्चीको पानी जस्तै बुटवलमा पनि झुम्साको पनि सपना मात्र बाँड्नुभयो ३ पटक जितेको उम्मेदवारले, उहाँले सपना देखाउनुभयो, हामी काम गरेर देखाउँछौँ। ’उनले भूमिको अधिकारलाई राजनीति खेल बनाई चुनाव जित्ने आधार बनाउनेलाई अब भोट नदिन उनले आग्रह गरे ।