लुम्बिनी प्रदेश सरकारले घोषणा गरेको प्रदेश प्राबिधिक विश्वबिद्यालयको बाँकेको नेपालगन्जमा केन्द्रीय कार्यालय स्थापना गरिएको छ । विश्वबिद्यालयको केन्द्रीय कार्यालयको आज एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्धघाटन गरेका हुन ।
कार्यक्रम उद्घघाटन गर्दै मुख्यमन्त्री केसीले लुम्बिनी प्राविधिक विश्वविद्यालय छिट्टै सञ्चालनमा आउने बताएका छन् । खजुरामा नै कार्यालय उद्घाटन गर्ने मन थियो, तर भवन मर्मत गर्न समय लागेपछि नेपालगञ्जमा कार्यालय खोल्नुपर्यो”, उनले भने, “यहाँ अल्पकालका लागि मात्रै हो । यथाशीघ्र खजुराबाटै प्रशासनिक कार्यालय कार्यान्वयनमा आउनेछ ।” खजुरामा जनक शिक्षा सामग्री केन्द्रले छापाखाना सञ्चालनका लागि बनाएको भवनलाई लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय राख्ने तयारी गरिएको भए पनि उक्त भवन मर्मत गर्न समय लाग्ने भएपछि नेपालगञ्जस्थित डिभिजन वन कार्यालय परिसरमा नवनिर्मित भवनमा विश्वविद्यालय उद्घाटन गरिएको छ ।
मुख्यमन्त्री केसीले बाँकेको खजुरामा प्रदेश प्राविधिक विश्वविद्यालयका लागि प्रस्ताव गरिएको जग्गाको स्थलगत अवलोकनसमेत गरेका छन् । खजुरा गाउँपालिकाबाट विश्वविद्यालयका लागि प्रस्ताव भएको ११० बिघा जग्गाको अवलोकन गर्दै विशेष अनुदानको रकमबाट भए पनि भवन मर्मत र जनक शिक्षाबाट भोगाधिकार ल्याउने काम हुने मुख्यमन्त्री केसीले आश्वासन दिए ।
विश्वविद्यालय उद्घाटन समारोहमा प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री तिलकराम शर्मा, शिक्षा तथा खेलकुदमन्त्री वसीउद्दीन खाँ, संविधानसभाका पूर्वउपाध्यक्ष पूर्णा सुवेदी, विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा विनोदप्रसाद ढकाल, शिक्षा मन्त्रालयका सचिव कृष्णप्रसाद पन्थलगायतले प्रदेश प्राविधिक विश्वविद्यालयका बारेमा बोलेका थिए ।