चाडपर्वमा सबैभन्दा बढि उपभोग हुने मासुजन्य पदार्थमा हुने कालोबजारी तथा गुणस्तरहित वस्तुहरूको बिक्री वितरण रोक्न बुटवल उपमहानगरपालिकाले बुटवलका बिभिन्न क्षेत्रका मासु पसलहरूमा अनुगमन गरेको छ।
अनुगमनकाे क्रममा बुटवलका तीनवटा मासु पसलमा अखाद्य मासु भेटिएपछि बुटवल उपमहानगरपालिकाको टोलीले जफत गरी नष्ट गरेको छ । आइतबार गरिएको अनुगमनका क्रममा इँटाभट्टाको कुरैशी मासु पसल, स्माइली मासु पसल र देवीनगरमा रहेको श्रेष्ठ मासु पसलमा अखाद्य मासु फेला परेपछि जफत गरिएको हो ।
जफत भएको करिब २२ किलो अखाद्य मासु नष्ट गरिएको हो। अखाद्य मासु भेटिएका पसललाई बन्द गरी उपमहानगरमा बोलाइएको छ । अन्यलाई मापदण्ड अनुसार काम गर्न निर्देशन दिइएको उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् ।
उपप्रमुख अर्यालको संयोजकत्वमा आइतबार गरिएको अनुगमनमा देवीनगरमा रहेका दिनेश फ्रेस हाउस र नमस्ते गाउँले मासु पसलले सडक क्षेत्रमा वधशाला बनाएको पाइएको छ ।