निर्वाचन नजिकिएसँगै जनप्रतिनिधि आफ्नो उपस्थिति देखाउन दाैडीधुप चलिरहेकाे छ । उनीहरुलाई काम देखाएर जस लिन हताराे बढेकाे छ । यसैक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले एकै दिनमा चार विकास आयोजना शिलान्यास र उद्घाटन गरेका छन ।
चुनाव नजिकिँदै गर्दा मन्त्री यादवको गृहजिल्ला कपिलवस्तुमा सक्रियता बढेको देखिन्छ । उनका सबै योजना र कार्यक्रम चुनाव लक्षित छन् । उनलाई उद्घाटन र शिलान्यासमा दौडधुप छ । यसले के देखाउँछ भने, जसरी हुन्छ फेरि निर्वाचन जित्नु छ । आम सर्वसाधारण भने यस्ता कार्यको विरोध गरिरहेका छन् ।
मन्त्री यादवले आफ्नो निर्वाचन क्षेत्रमा दुईवटा सडक एवं एउटा पुलको शिलान्यास र कपिलवस्तु नगरपालिका–६, सगरहवामा निर्माण सम्पन्न भएको पुलको एकै दिन बिहीबार उद्घाटन गरेका हुन् । हतार–हतार गरेर उनले कार्यक्रम भ्याएका थिए । उनको दौडधुप यस्तो थियो की, उद्घाटन र शिलान्यास भएन भने निर्वाचनमा पराजय भोगिन्छ ।
जिल्लाको शुद्धोदन गाउँपालिका–६ मा बिमिहा–सोहसा सडक योजना, मायादेवी गाउँपालिका र कपिलवस्तु नगरपालिका जोड्ने चाकलचौडा–पचेहरा सडक खण्ड र दोहनी–लोधडिह सडक खण्डस्थित लोधडिह बक्स कल्भर्टको मन्त्री यादवले शिलान्यास गरेका छन् । त्यस्तै, कपिलवस्तु नगरपालिका–६ स्थित निगाली–तिलौराकोट सडक खण्डको रामजकिया खोलामा निर्माण सम्पन्न पुलको उद्घाटन पनि उनले गरेका हुन् ।
अस्फाल्ट प्रविधिबाट बनाउन लागिएको बिमिहा–सोहसा सडक ५ हजार ६ सय ९१ मिटर लामो छ । एसियाटिक–रिजाल जेभी रूपन्देहीले ९ करोड ७७ लाख ९९ हजार रुपैयाँमा ठेक्का लिएको छ । २०७९ असार १४ मा सम्झौता गरिएको उक्त योजना १८ महिनामा सम्पन्न गर्ने लक्ष्य छ । डीभीएसटी प्रविधिमा निर्माण हुने चाकलचौडा–पचेहरा सडक खण्ड ३ हजार ७ सय मिटर लामो छ ।
५ करोड ३१ लाख लागतमा बटाजु–एसियाली जेभी रूपन्देहीले उक्त ठेक्का लिएको छ । २०७९ असार ६ मा सम्झौता गरिएको उक्त योजना १२ महिनामा सम्पन्न गर्ने बताइएको छ । त्यस्तै शिलान्यास गरिएको लोधडिह बक्स कल्भर्ट १६ दशमलव ५ मिटर लामो छ । १ करोड ९७ लाख रुपैयाँ लागतमा श्रीराम निर्माण सेवा कपिलवस्तुले ठेक्का लिएको छ । २०७९ असार ७ मा सम्झौता गरिएको उक्त बक्स कल्भर्ट १२ महिनामा निर्माण सम्पन्न हुने बताइएको छ ।
त्यस्तै उद्घाटन गरिएको रामजकिया खोलाको पुल २५ मिटर लामो छ । उक्त पुल ३ करोड २८ लाख लागतमा निर्माण गरिएको हो । २०७७ जेठ ३२ गते सम्झौता गरिएको पुल २०७८ मंसिर २९ मै पूरा भएको सडक पूर्वाधार कार्यालय प्रमुख हितेन्द्र रायमाझीले जानकारी दिए ।
शिलान्यास र उद्घाटन कार्यक्रममा प्रदेश भौतिक पूर्वाधार मन्त्रालय सचिव अमृत श्रेष्ठ नेतृत्वमा कर्मचारीको टोली दिनभरि दौडधुप गरेको थियो । शुद्धोधन र मायादेवी गाउँपालिकामा गरिएको शिलान्यास कार्यक्रममा मन्त्री यादव पनि ठूलो दलबलसहित पुगेका थिए । नेता कार्यकर्ताको बाक्लै चहलपहल थियो ।
आफू मन्त्री भएपछि पछाडि परेको क्षेत्रलाई विकासमा अगाडि बढाउन योजना र बजेट विनियोजन गरेको मन्त्री यादवले बताए । दलगत आस्था त्यागेर सबैको हितअनुकूल काम गरिरहेको उनले बताए । जिल्लाको विकासका लागि आएको बजेटले गुणस्तरीय काम होस् भनेर स्थानीयले निरन्तर खबरदारी गरिरहनु पर्ने उनले बताए । ‘हामीले काम गर्न सम्झौता गरिसक्यौं,’ उनले भने, ‘अब निर्माण व्यवसायीले समयमै गुणस्तरीय काम गरेर सम्पन्न गर्नेतिर लाग्नु पर्छ ।’
मन्त्रीको हतार सबै निर्वाचन केन्द्रित छ भन्ने उनको दौडधुपले प्रष्टिन्थ्यो । मतदाता रिझाउन र प्रभावमा पार्न पछिल्लो समय लुम्बिनी प्रदेशका स्थानीय तहदेखि प्रदेश सरकारले समेत धमाधम यस्ता गतिविधि गरिरहेका छन् । हतारमा उद्घाटन गर्ने तर समयमै नसकिने पो हो की ? भन्दै स्थानीय भने सशंकित बनेका छन् ।