प्रदेशका ग्रामीण क्षेत्रका महिलाहरुले आफ्नो गर्भाअवस्थाको बारेको जानकारी नपाएकै कारण अकालमै ज्यान गुमाउनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै प्रदेश सरकारले पालिका स्तरमा अल्ट्रासाउण्ड कार्यक्रम लागू गरेकाे छ ।
मङ्गलवार गढवा गाउँपालिकाकाे गढवा स्वास्थ्य चाैकिले आयाेजना गरेकाे एकिकृत स्वास्थ्य तथा सरसफाई कार्यक्रमअन्तर्गत ग्रामीण अल्ट्रासाउण्ड उद्धघाटन कार्यक्रममा बाेल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजीत थारुले बाल मृत्यु दर र मातृ मृत्यु दर घटाउन र अनिवार्य स्वास्थ्य सेवाको रुपमा रहेको सुरक्षित मातृत्व कार्यक्रमलाई लुम्बिनी प्रदेशमा प्रभावकारी बनाउनका लागि ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम लागू गरिएको बताए ।
उनले याे प्रविधिको प्रयोग गरेर ग्रामीण क्षेत्रका गर्भवती महिलाको नि:शुल्क भिडियो एक्स्रे सेवा तथा परिक्षणको आधारमा उपचार प्रभावकारी हुने विश्वास व्यक्त गरे । ग्रामीण क्षेत्रमा गर्भवती, सुत्केरी आमा र नवजात शिशुको मृत्यु कम गर्न र स्वास्थ्य सुरक्षाको बारेमा जानकारी लिन सजिलो हुने सरकारको उदेश्य अब पूरा हुने विश्वास व्यक्त गरे ।
त्यस्तै प्रोटेवल अल्ट्रसाउण्ड मेसिन दाङका दुई पालिकामा हस्तान्तरण गरीकाे छ । राप्ती गाउँपालिकाकाे स्वास्थ्य चाैकिमा ३ थान र गढवा गाउँपालिकाकाे स्वास्थ्य चाैकिमा ३ थान प्राेटेवल अल्ट्रासाउण्ड हस्तान्तरण गरीएकाे छ । साथै साेहि गढवामा १ थान डिजिटल एक्सरे मेसिन पनि हस्तान्तरण गरिएको छ । ओैपचारिक कार्यक्रमका बिच दुई गाउँपालिकाका स्वास्थ्य चाैकिलाई ६ थान प्रोटेवल अल्ट्रसाउण्ड मेसिन हस्तान्तरण गरिएकाे हाे । उक्त प्राेटेवल अल्ट्रसाउण्ड मेसिनकाे मुल्य प्रति थान ५ लाख पर्छ भने डिजिटल एक्सरे मेसीनकाे भने प्रति थान ५५ लाख पर्छ ।