लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले
देशमै धेरै सम्भावना भएको बताए । सोमबार भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा (युसिएमएस)मा अध्ययनरत विद्यार्थीहरुको संस्था करुणा च्यारिटेबल सोसाइटीले आयोजना गरेको ‘करुण फेस्ट–२०२२’ को उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थी र बैज्ञानिकहरुले स्वदेशमै खोज–अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले पछिल्लो समय नेपालमा पढेर कामका लागि विदेश जाने र पढ्नका लागि विदेशिनेहरु बढीरहेको भन्दै स्वदेशमै खोज–अनुसन्धान गरेर देशकाे समृद्धिका लागि काम गर्नु पर्ने बताए ।
‘सकभर नेपालमै पढेर यही नै सेवा गरौं भन्ने भाव सबैले लिए मात्रै करुणाको अर्थ सिद्ध हुने छ’, उनले भने, ‘चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले स्वदेशमै रहेका जडीबुटीको अध्ययन–अनुसन्धान गरी औषधि उत्पादनमा लाग्नुपर्छ । यसका लागि प्रदेश सरकारले सहयोग गर्न तयार रहेकाे बताए ।
मुख्यमन्त्री केसीले नेपालका जडीबुटीको सही समदुपयोग हुन नसकेको बताउँदै यसका लागि विशेष योजना बनाएर काम गर्नु पर्ने जनाए । ‘हामीले यहीको हावापानीमा धेरै औषधिहरु बनाउन सक्छौं, यहाँ धेरै सम्भावना छ, बैज्ञानिकहरुको खोज यता हुनुपर्छ’, उनले भने । केसीले हाम्रै प्रदेशको पुथा हिमालमा बहुमूल्य यार्शागुम्वा पाइने बताउँदै अन्य थुप्रै बहुमूल्य चिज अन्य ठाउँमा पनि पाइने जनाए । उनका अनुसार पुथा हिमालबाट मात्रै बार्षिक ५ सय किलो यार्शागुम्बा संकलन हुने गरेको छ ।
अस्पतालमा उपचारका लागि आएका गरिब तथा निमुखाहरुको सेवाका लागि खोलिएको करुणा संस्थाले साँच्चिकै करुणा भावले सहयोग पुर्याउनेमा आफू विश्वस्त रहेको मन्त्री केसिले बताए ।
त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताए । उनले विपन्नलाई सहयोगसँगै वृक्षारोपण गर्ने संस्थाको योजना सह्रानीय रहेको जनाए । उनले वृक्षारोपणसँगै अन्य कार्यमा सधै नगरपालिकाले सहयोग गर्ने बताए ।
अस्पतालका अध्यक्ष रमेश शर्माले विद्यार्थीहरुका हरेक साकारात्मक गतिविधिमा अस्पतालले सहयोग गर्ने जानकारी दिए । उनले अस्पताल सामाजिक क्रियाकलापसँगै विद्यार्थीहरुका योजनामा साथ दिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । अस्पतालका प्रबन्ध निर्देशक खुमा अर्यालले विगतदेखि नै यसिएमएसमा अध्ययनरत विद्यार्थीले सामाजिक काम गर्दै आएको बताउँदै सधै निरन्तरता दिन आग्रह गरे । उनले यसका लागि अस्पताल प्रशासन र संचालकहरु सधै सहयोगी बन्ने जनाए ।
सोसाइटीका अध्यक्ष रुद्रनारायण साहले उपचारमा आउने गरिब, विपन्न, असाहयलाई संस्थामार्फत् आर्थिक सहयोग गर्दै आएको जानकारी गराए । उनले अहिलेसम्म सयौं विरामीको उपचारमा सहयोग गरेको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रष्ट्याए । यसवर्षबाट वृक्षारोपणका कार्यक्रमलाई पनि योजनामा समेटेर काम गर्ने उनको भनाई छ । पढाईसँगै सेवा गर्ने उद्देश्यले संस्था खोलिएको साहले बताए ।
युसिएमएसमा विभन्न संकायमा अध्ययनरत करिब १ हजार ७ सय विद्यार्थी छन् । यी विद्यार्थीहरुले संस्था दर्ता गरेर सेवा गर्दै आएका छन् । उनीहरुले यही संस्था मार्फत् सामाजिक कार्य गर्दै आएका छन् । कार्यक्रममा अस्पतालका तर्फबाट अध्यक्ष शर्माले सोसाइटीलाई एक लाख रुपैयाँ समेत सहयोग गरेका थिए ।