पहिरोले ताप्लेजुङको सिरिजंघा गाउँपालिकाका अधिकांश गाउँमा क्षति पुगेको छ ।
गएराति पहिरो जाँदा ७ नं वडा खेवाङमा एकै घरका २ जनाको मृत्यु भएको छ । १ जना गम्भीर घाइते छन् । त्यहाँका वडाध्यक्ष बुद्ध दाहालका अनुसार पहिरोका कारण ३० बढी परिवार विस्थापित छन् । घाइतेको उद्दारका लागि हेलिकप्टर मगाइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपासिकाका उपाध्यक्ष डा. चित्र मावोका अनुसार ६ नं वडा मामाङ्खेको सुदाप र मिक्लादेन टोलका दर्जनौं स्थानमा पहिरो गएको छ । साक्सेवा खोलाको झोलुङ्गे पुल पहिरोले बगाएको छ ।
५ नं वडाको याङपाङ, १ नं वडाको सिनाम, २ नं वडाको हप्पुखोला र निवुखोलामा पनि पहिरोले क्षति गरेको मावोले जानकारी दिए । गाउँपालिकामा केन्द्रिय प्रशारण लाइनको विद्युत् ४ दिनदेखि अवरुद्ध रहेको छ ।
पहिरोले सडक तथा गोरेटो बाटो बगाएका कारण गाउँपालिकाभर नै बालबालिकालाई विद्यालय जान र स्थानीयलाई हिँडडुल गर्न समस्या भएको मावोले बताए । आवश्यकता अनुसार विद्यालय बन्द गर्न पनि सबै विद्यालयलाई निर्देशन दिइसकिएको उनको भनाइ छ ।drishtinews.com बाट साभार