कालीमाटी गाउँपालिका–२ कोछट्टेका ५० वर्षीय नन्दलाल ओली एक महिनाअघि ज्वरोले थलिए ।
सडक सुविधा नहुँदा उनलाई आफन्त र छिमेकीले ४ घण्टा स्ट्रेचरमा बोकेर पुतलीबजारस्थित स्वास्थ्यचौकीमा पुर्याए । ‘सानो उपचार गर्न पनि सास्ती भोग्नुपर्ने बाध्यता छ,’ एक साताअघि तंग्रिएका उनले भने, ‘सडक छैन, स्वास्थ्यचौकीमा जान स्ट्रेचरको विकल्पै भएन ।’
कोछट्टेका बासिन्दा सामान्य उपचारका लागि पनि ४ घण्टा पैदल हिँड्न बाध्य छन् । भौगोलिक विकटता र डाँडामा बस्ती भएकाले गाउँमा अहिलेसम्म सडक पुगेको छैन । कोछट्टेमा झन्डै एक सय घरधुरी छन् । ‘सातामा ४/५ जना बिरामी भइरहन्छन्,’ स्थानीय प्रेमबहादुर ओलीले भने, ‘सानोतिनो बिरामीका लागि त घरेलु उपचारकै भर छ, कसैलाई ठूलो बिमार लागे छिमेकीहरू जम्मा भएर स्ट्रेचरमा स्वास्थ्यचौकी लैजानुको विकल्पै छैन ।’
सामान्य स्वास्थ्य सेवाका लागि पनि विगतदेखि नै सास्ती भोग्दै आएको उनले गुनासो गरे । पालिकाले दारेढुंगामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरे पनि सबैका लागि पायक नभएको र त्यहाँ स्वास्थ्यकर्मी नै नभेटिने स्थानीय गंगाराम ओलीले बताए । ‘कहिले स्वास्थ्यकर्मी हुँदैननन् त कहिले औषधि पाउन मुस्किल हुन्छ,’ उनले भने, ‘त्यसैले उपचारका लागि पुतलीबजार जानुको विकल्प भएन ।’ पुतलीबजार गाउँपालिकाको केन्द्र हो ।
सामान्य उपचारका लागि उकालो–ओरालो र जंगलको बाटो हिँडनुपर्दा सामान्य बिरामी पनि थला पर्ने उनले बताए । ‘बिरामी बोकेर लैजानेहरू पनि उल्टै बिरामी पर्ने अवस्था छ,’ उनले भने, ‘नजिकै प्रसूति गृह नहुँदा गर्भवती महिलाहरू गर्भ जाँच र खोपबाट वञ्चित छन्, भौगोलिक विकटता र स्वास्थ्य संस्था टाढा हुँदा महिलालाई बाटोमै असुरक्षित तरिकाले सुत्केरी हुनुपर्ने बाध्यता छ ।’
बिरामीलाई समयमै स्वास्थ्य संस्था पुर्याउन नसक्दा एक वर्षयता २ जनाले उपचार अभावमा ज्यान गुमाएको स्थानीय थमनबहादुर घर्तीले बताए । विकट बस्तीमा स्वास्थ्यसेवा सुलभ बनाउन घुम्ती शिविरको माग राख्दै आए पनि बेवास्ता भइरहेको उनको भनाइ छ । ‘ठूला उपचारका लागि त सदरमुकाम नै पुग्नुपर्छ,’ उनले भने, ‘सरकारले पालिकामै विशेषज्ञ डाक्टरबाट स्वास्थ्य सेवा दिने नीति बनाएको छ, हामी त सामान्य उपचार पाउनबाट पनि वञ्चित छौं ।’
स्वास्थ्य संस्था टाढा भएकै कारण दुई वर्षदेखि घरेलु उपचारको भर पर्नुपरेको उनले गुनासो गरे । डाँडामा रहेको बस्तीमा खानेपानी, स्वास्थ्य, बिजुलीलगायत समस्या पनि रहेको उनको भनाइ छ । कालीमाटी गाउँपालिका–२ वडाध्यक्ष इन्द्रबहादुर ओलीले वडाका अधिकांश ठाउँहरू भौगोलिक रूपमा विकट हुँदा स्वास्थ्य सेवा प्रवाहमा पनि ठूलो असर परेको बताए ।
‘वडामा आउने बजेटले सबै गाउँमा स्वास्थ्य संस्था खोल्न सकिँदैन,’ उनले भने, ‘त्यसैले घरदैलो गरेर उपचार सेवा प्रवाह गर्न गाउँ कार्यपालिकालाई अनुरोध गरिएको छ ।’