बन्चरेडाँडा क्षेत्रमा आवश्यक जग्गा अधिग्रहण गर्न यसै आर्थिक वर्षमा बजेट छुट्याउने सहमतिपछि स्थानीय बासिन्दाले काठमाडौंको फोहोर व्यवस्थापन गर्न दिने भएका छन्।आज सहरी मन्त्रालयमा भएको छलफलमा स्थानीय बासिन्दा, संघर्ष समितिले जग्गा अधिग्रहण, बन्चरेडाँडासम्म जाने बाटोका लागि पर्याप्त बजेट विनियोजन र स्थानीय बासिन्दा पनि रहने एक समिति गठन गरिनुपर्ने बताएका थिए।बन्चरेडाँडा क्षेत्रमा फोहोर व्यवस्थापनबारे अनुगमन गर्न स्थानीय बासिन्दासमेत रहको समिति गठन गरिनुपर्ने माग उनीहरूको थियो।गत फागुन २६ मा मन्त्रिपरिषद बैठकले बन्चरेडाँडा सडक राम्रो बनाउने भने पनि जम्मा ५० लाख बजेट विनियोजन भएकोमा स्थानीयले बजेट पर्याप्त उपलब्ध गराउनुपर्ने माग गरेका थिए।आवश्यक बजेट विनियोजन गरी टेन्डरको प्रक्रिया सुरू गरिनुपर्ने माग उनीहरूको थियो।
बैठकमा सहरी विकास मन्त्री रामकुमारी झाक्रीले सडकलगायत योजना अघि बढ्ने बताएकी थिइन्। ५० लाख बजेट विनियोजन भएकोले उक्त सडक बागमती प्रदेश मातहत गएकोले त्यसलाई मन्त्रालय मातहत ल्याउने उनले बताएकी थिइन्।उनले काठमाडौंको फोहोर व्यवस्थापन गर्न जनप्रतिनिधि र स्थानीयको सहयोग आवश्यक परेको बताएकी थिइन्।‘जग्गा अधिग्रहण गर्न पर्ने भए गर्ने हो। तर आजैदेखि फोहोर फाल्न दिऔं,’ उनले भनिन्, ‘काठमाडौंमा फोहोरले सकस भइसक्यो।’उनले मन्त्रालयबाट हुन नसक्ने काम मन्त्रिपरिषदमा लगेर गर्ने पनि बताएकी थिइन्। ‘यो बैठक गर्नुअघि प्रधानमन्त्रीसँग भेटेर कुराकानी गरेको हो। कतिपय कुरा मन्त्रिपरिषदबाट पनि पास गर्नुपर्ने हुन सक्छ,’ उनले भनिन्।उनले आफूले दिएका अभिव्यक्तिबाट कसैको मन दुखेको भए क्षमा मागेकी थिइन्।यस्तै उनले आज अपरान्ह स्टेरिङ कमिटीको बैठक बस्ने र फोहोरमैला व्यवस्थापनलगायत कार्ययोजना तयार गरी सार्वजनिक गर्ने बताएकी छन्।बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जग्गा अधिग्रहण गर्ने कार्य अघि बढाउन सुझाव दिएका थिए।‘जग्गा अधिग्रहण गर्न यसै वर्ष बजेट विनियोजन गरेर काम गरौं,’ उनले भने, ‘एउटा अनुगमन समिति पनि बनाऔं। जग्गा अधिग्रहण गर्न बजेट विनियोजन गर्न हामी पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँछौं। मन्त्रालयले पनि कार्ययोजनामा यो विषय समावेश गरोस्।’थापाका अनुसार जग्गा अधिग्रहणका लागि चार/पाँच अरब पैसा आवश्यक पर्न सक्छ। आजको बैठकमा काठमाडौंका सांसदहरू, मेयरहरू, वडा अध्यक्षहरू र कांग्रेसका प्रवक्ता प्रकाशशरण महत र संघर्ष समिति व्यक्तिहरू लगायत उपस्थित थिए।बैठकमा सहभागी कांग्रेस नेता महतले पार्टी र जनप्रतिनिधि समावेश गरेर अनुगमन समिति गठन गर्न सकिने बताएका थिए। ‘कहिलेसम्म के काम गर्ने भन्ने मन्त्रालयले स्टेरिङ कमिटीबाट योजना ल्याउनुपर्छ,’ उनले भने।प्रधानमन्त्रीलाई भनेर बन्चरेडाँडामा सडक बनाउन बजेट विनियोजन गर्न सकिने पनि महतले बताएका थिए।अन्तिममा महतले स्थानीय संघर्ष समितिका व्यक्तिहरूलाई भने, ‘ल है साथीहरू आजदेखि फोहोर फाल्न दिने है त।’ काठमाडौंको फोहोर दुई सातादेखि व्यवस्थापन हुन सकेको छैन।बन्चरेडाँडा क्षेत्रमा स्थानीय बासिन्दा र प्रहरीबीच झडप पनि भएका थिए।