बलात्कारको आरोप लागेका एक बोर्डिङ स्कुलका प्रिन्सिपल काठमाडौंबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३६ वर्षीय राजकुमार खड्कालाई पक्राउ गरेको हो ।
धरान उपमहनगरपालिका-५ स्थित ब्लुमिङ लोटस इङ्लिस स्कुलमा प्रिन्सिपल रहेका खड्कामाथि २०७४ साउन २६ गते सोही उपमहानगरपालिका९ १३ स्थित एक गेस्ट हाउसमा पुर्याएर आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोप लागेको छ ।
टोखा नगरपालिकास्थित बानियाटारमा डेरामा बस्दै आएका खड्कालाई पक्राउ गरी सुनसरी प्रहरीमा बुझाउन लगिएको सीआईबीले जनाएको छ । केही दिन अघि पिडित युवतीले आफुलाई ७ वर्षअघि इटहरीको ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलमा ९ कक्षामा अध्ययनरत हुँदा सोही स्कुलका प्रिन्सिपल राज खड्काले आफूमाथि पटक-पटक बलात्कार गरेको खुलासा गर्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट सार्वजनिक गरेकी थिइन् ।
यद्यपि यस घटनामा पीडितले यसअघिनै आरोपित विरुद्ध प्रहरीमा उजुरी दिएपनि आरोपित फरार रहेका थिए । खड्का विदेश जाने तयारीमा रहेको खुलेको छ।
उनी पासपोर्ट लिन जाँदा राहदानी विभाग त्रिपुरेश्वरबाट पक्राउ परेका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेर सुनसरी पठाएको एसपी कमल थापाले बताए।
खड्काले स्कूलबाटै रेष्टिकेट गरिदिने भनी धम्क्याई जबरजस्ती करणी गरेको आरोप छ। पछि ती छात्राले स्कुल नै छाडेकी थिइन्। छात्रालाई विवाह गर्छु भनी फकाउने र समाजमा बेइज्जत गरीदिने धम्की दिँदै पटक–पटक मानसिक तनाव दिएर जबरजस्ती करणी गरेको पीडितको जाहेरीमा उल्लेख छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले जबर्जस्ती करणीको कसुरमा अनुसन्धान गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो। अदालतमा मुद्दा दायर भएपनि यो मुद्दा मुल्तबीमा रहेको छ। अब उनलाई सुनसरी प्रहरीले अदालतमा उपस्थित गराउने छ। Nuwakotexpress.com बाट साभार गरिएको हो