एमालेले घुसपैठ गरेको भन्दै लमजुङको मध्यनेपाल नगरपालिकामा पाँचदलीय गठबन्धनले लफडा निकाल्दा मतगणना झण्डै १ घन्टा स्थगित भएको छ । बिहान ९ बजेबाट शुरु गरिएको मतगणनामा वडा नं १ र १० को विषयलाई लिएर स्थगित गरिएको हो ।एमालेले आफ्ना मान्छेहरुलाई राप्रपा र स्वतन्त्र उम्मेदवारका प्रतिनिधि भन्दै घुसाएको निहुँमा गठबन्धनका प्रतिनिधिहरूले विरोध जनाएका थिए । मत गन्ने क्रममा एमालेको एकल मत भन्दा गठबन्धनको मत कम हुन थालेपछि गठबन्धनले के निहुँ पाउँ कनिका बुकाऊँ गरेको एमालेले आरोप लगाएको छ । सहमतिमै ती व्यक्तिहरूलाई आउट गरेपछि मतगणना पुनः सुचारु गरिएको छ ।
पछिल्लो परिणामअनुसार ६ सय मत गन्दा गठबन्धनका मेयर रमेशकुमार पाण्डेले ३०३ र एमालेका राजकुमार श्रेष्ठले २८८ मत पाएका छन् । यस्तै उपमेयरमा गठबन्धनका उपेन्द्र अधिकारीले २४६ र एमालेकी सीता गुरुङले २९३ मत प्राप्त गरी अग्रस्थानमा छिन् ।
अघिल्लै कार्यकालका मेयर रमेशकुमार पाण्डे र उपमेयर राजकुमार श्रेष्ठ मध्यनेपाल नगरपालिकामा मेयरको प्रतिस्पर्धी बनेका छन् । पाण्डे कांग्रेसका हुन् भने श्रेष्ठ एमालेका । कूल २० हजार ९२ मतदाता रहेको मध्यनेपाल नगरपालिकामा १३ हजार ७ सय ५१ मत मात्रै खसेको थियो।-अञ्जनकुमार