जुम्लाको गुठीचौर गाउँपालिकाको एक मतदानस्थलमा झडप भएको छ । गुठीचौर गाउँपालिका(३ गज्यांकोटस्थित शंकर बहुउद्देश्यीय माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा झडप भएको हो । कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच विवाद हुँदा झडप भएको हो । दुई पार्टीका कार्यकर्ताबीच झडप हुँदा सहायक मतदान अधिकृत रवि भण्डारीको घुँडामा चोट लागेको छ ।
मतदाताले मतदाता परिचयपत्र च्यात्न खोजेपछि विवाद भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई बताइन् । ‘अहिले मतदान कार्य रोकिएको छ,’ उनले भनिन्, ‘मतदान स्थगित नै भएको होइन । केही समयका लागि रोकिएको मात्र हो ।’एक हजार सात मतमध्ये अहिलेसम्म ३१२ मत मात्रै खसेको छ ।
यो पनि पढ्नुहोस -नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । भक्तपुरको सूर्यविनायक–२ स्थित महेन्द्र शान्ति माविबाट मतदान गरेका हुन् । मतदान गर्दै ओलीले अब देश दुई दलीय प्रणालीतर्फ जाने देखिएको बताए । मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले भने, ‘एमाले एकातिर, गठबन्धन अर्कातिर । मूलतः देश दुई दलीय प्रणालीतिर जाने देखियो ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन रोक्न अन्तिम सम्म प्रयास गरेको भन्दै त्यो असफल भएको बताए । ‘देउवाले आज डडेल्धुरामा मतदान गर्नुभयो । उहाँले अस्ती ९ वैशाखमा मात्रै चुनाव सारौँ भन्ने औपचारिक प्रस्ताव गर्नुभएको थियो । मैले कुनै पनि हालतमा निर्वाचन सार्ने प्रयास हुँदैन भनेपछि उहाँ सार्ने मनसायबाट पछि सर्नु भएको हो,’ ओलीले भने ।
देउवाले गरेको उक्त प्रस्तावबारे कसैसँग कुरा नगरेको भन्दै अहिले सार्वजनिक गरेको बताए । आगामी चैतमा चुनाव गर्ने गरी अहिलेको गठबन्धन नै लागिपरेको भन्दै एमालेको कारण चुनाव सार्न नसकेको बताए ।