गुल्मी जिल्लाको मदाने गाउँपालिका वडा नम्बर ५ मा संयुक्त गठबन्धनका तर्फबाट वडा अध्यक्ष पदका उमेदवार हुन् हरी सेन । मदाने गाउँपालिका ५ मलागिरीमा स्थायी घर भएका सेन यस अघि स्वास्थ्य चौकीका इन्चार्ज थिए । यसपाली सत्ता गठबन्धनको टिम र सबै विकास प्रेमी व्यक्तिहरु रहेकोले जित सुनिश्चित रहेको बताएका छन् । सानै उमेर देखि समाजसेवा गर्नुपर्छ भन्ने विचारधाराका सेन निकै लामो समय राष्ट्रसेवक भएर काम गरे, त्यसपश्चात समाजसेवामा होमीएका थिए । उनै उम्मेदवार सेनसँग बुटवल दैनिकका लागि सन्दीप थापाले गरेको कुराकानीको सम्पादित अंश :
मदाने गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा चुनाव लड्दै हुनुहुन्छ, के कस्ता छन् एजेण्डा ?
~ सर्वप्रथम त गठबन्धनबाट म यस वडाको अध्यक्षमा उम्मेद्वार भएको छु । यतिबेला मतदाताका घरघरमा पुगेर हाम्रो एजेन्डा तथा भिजनहरुको अवगत गराइरहेका छौँ । यदी उहाँहरुले अवसर दिनुभएको अवस्थामा मैले वडालाई समृद्धि र समुन्नत बनाउने छु । मेरो अठोट नै यहि हो । कसरी विकास गर्ने कसरी मदानेलाई समृद्ध तर्फ लैजाने यही कुरालाई प्राथमिकतामा राखेर हामीले एजेन्डा बनाएर घरघर पुगेका छौँ । गुल्मीको पश्चिमी भेगमा रहेको मदाने अन्तर्गतको यस वडा पछि परेको छ त्यहि भएर सबैमाझ विकास गरेर चिनाउनका लागि मेरो उम्मेदवारी रहेको हो । सडक, शिक्षा, स्वास्थ्य लगायत कृषि क्षेत्रमा क्रान्ति लिनको लागि हामीले एजेन्डा बनाएर अगाडि बढाएका छौँ ।
यस वडालाई कस्तो बनाउने साेंच छ ?
~ हाम्रो सोच हाम्रो उदेश्य सदैव सकारात्मक नै हुन्छ, यदी मेरो सोच मेरो उदेश्य नराम्रो हुन्थ्यो भने म यस मैदानमा होमिदैनथे । वडालाई विकास गर्ने, समृद्ध बनाउने नै हाम्रो सोच हो । यहाँका जनताले सुख पाउन् सेवा सुविधामा कुनै समस्या नहोस् भन्ने नै मेरो सोच हो ।
अरू प्राथमिकताका क्षेत्रहरू के–के होलान् ?
~ हाम्रा प्राथमिकताका क्षेत्रहरु धेरै छन् । विशेष गरि अहिले यहाँका जनताको समस्यालाई समाधान गर्नमा नै हामी तल्लिन मा छौ । युवा बेरोजगार बढिरहेको छ त्यसलाई जसरी पनि व्यवस्थापन गरेर रोजगारीको सिर्जना गर्ने छौँ । यससँगै कृषिलाई प्राथमिकतामा राखेका छौँ । उन्नत किसिमले कृषिकरण गरेर उत्पादित बस्तुहरुको बजारिकरण गरेर आम कृषकहरुको आर्थिक स्थितिमा बलियो बनाउने छौँ । शिक्षालाई पनि प्राथमिकतामा राख्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा र सबै वडाहरुमा उच्चस्तरीय शिक्षा प्रदान गर्ने छौँ । यससँगै स्वास्थ्य, पर्यटन, यातायात लगायतका क्षेत्रमा परिवर्तन गर्न कै लागि गठबन्धन एकजुट भएका हौं ।
स्वास्थ्य, पर्यटन, यातायात क्षेत्रमा पनि के कस्ता कार्य गर्ने योजनामा हुनुहुन्छ ?
~ म निकै लामो समय स्वास्थ्य क्षेत्रमा काम गरेको हुदा पनि मेरो स्वास्थ्य क्षेत्रमा अनुभव छ ।स्वास्थ्यमा धेरै अभाव खड्किएका छन, ती अभावलाई पूरा गर्ने छौँ । स्वास्थ्य चौकीको व्यवस्थापनमा सहज गरि सेवामा चुस्त दुस्त पारिने छ । मलागिरीमा रहेका पर्यटकीय सम्भावनाका क्षेत्रहरु खोजी गरि तिनको व्यवस्थापनमा लागेर पर्यटक भित्र्याउने लक्ष्य छ । यातायात क्षेत्रमा हाम्रा सबै टोलटोलमा दिर्घकालिन सडक विस्तार गरिने छ ।
केही लोकप्रिय नयाँ कार्यक्रम पनि बनाउनुभएको छ ?
~ लोकप्रिय कार्यक्रमहरु त यहाँ थुप्रै छन् । वडामा हुने सेवा प्रवाहलाई चुस्त दुस्त पारिने छ । ठाउँ तथा हावापानी हेरेर फलफुलको पकेट एरिया स्थापना गर्ने व्यवस्था मिलाउने छु ।
मदाने मलागिरीको अध्यक्ष बन्ने मान्छे हरि सेन भनेको को हो र कसरी चिनाउनुहुन्छ ?
~ म हरि सेन एउटा राष्ट्रसेवक व्यक्ति हो, निकै लामो समय स्वास्थ्य क्षेत्रमा काम गरे पश्चात् म समाजसेवामा तल्लिन भए । नेपाली काङ्ग्रेसबाट मदाने गाउँपालिका वडा नम्बर ५ को अध्यक्षका लागि चुनावी मैदानमा होमिएको छु । विकास र समृद्ध चाहाने मान्छे भएर नै समाजसेवामा होमिएको हो ।
नेकपा एमालेले तपार्इँलाई कत्तिको असर पार्ला ?
~ गठबन्धनलाई नेकपा एमालेले त्यति असर पार्दैन हाम्रो जित सुनिश्चित छ किनभने सत्यको विजयी अवश्य पनि हुन्छ । गाउँ ठाउँको लागि हामी एकजुट भएका छौँ । मतदाताहरुले हामीलाई भोट हालेर अत्यधिक बहुमतले विजयी गर्छौ मलागिरीको हकमा अनि सिङ्गो गाउँपालिकाको हकमा ।
अन्तमा भन्नुस कि तपाईलाई वडाबासीले भोट किन र केको लागि हाल्ने छोटकरीमा भन्नुहोला ?
~ मलागिरी बासीले भोट चाहिँ गठबन्धनलाई हाल्नुहुन्छ भन्ने पुर्ण विश्वस्थ छौँ किनकि वडाबासीहरुले विकास चाहानुहुन्छ, समृद्ध चाहानुहुन्छ, सकारात्मक परिवर्तन चाहानुहुन्छ त्यसैले यो काम मात्र गठबन्धनले गर्ने हुदा उहाँहरुले भोट हामीलाई नै हाल्नुहुन्छ । हाल्न पनि आग्रह गर्दछु ।
अन्तमा केही भन्न चाहानुहुन्छ ?
~ अन्तमा हाम्रा कुरा मतदाता समक्ष पुर्याउने माध्यम बनिदिनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद, र आदरणीय मतदाता ज्युहरु प्रति हामी गठबन्धनको तर्फबाट मदाने गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत सम्पुर्ण वडाका उम्मेदवार र मलागिरीको उम्मेदवारहरुलाई पनि गठबन्धनलाई भोट हाली विजयी गराउनुहुन आग्रह गर्दछु ।