वैशाख १४ -मोरङका दुई छुट्टाछुट्टै स्थानबाट दुई जना भारतीय नक्कली चिकित्सक पक्राउ परेका छन् । पथरी शनिश्चरे नगरपालिका–१ मा रहेको श्री राम पाईल्स क्लिनिकका संचालक भारत दार्जिलिङ रानिगन्ज पानसालीका २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैचा नगरपालिका–३ गछिया चौकमा रहेको कल्पना आयुर्वेदिक क्लिनिकका संचालक भारत दार्जिलिङ देवीगन्ज ग्रामपन्चायतका २९ वर्षीय सनोड मण्डल पक्राउ परेका हुन् ।
चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नको लागि ईजाजत पत्र प्राप्त नगरेका व्यक्तिहरूले क्लिनिक संचालन गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले वैशाख १२ गते दुवैलाई पक्राउ गरेको हो । उनीहरुले बिगत केही समय देखी आफु चिकित्सक भएको बताउँदै अबैध रुपमा क्लिनिक संचालन गर्दे आएका थिए ।
यसरी अबैध रुपमा क्लिनिक संचालन गरी आम नागरीकहरुको स्वास्थ्यमा खेलवाड गर्ने उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उपचारमा प्रयोग गरिएको सामाग्रीसहित पक्राउ गरेको छ । मेडिकल काउन्सिलसँग समन्वय गरी ईलाज सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।