यतिबेला चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय नजिकै विक्रमबाबा मेला चलिरहेको छ । अझै केही दिन चल्ने यो मेलामा भक्तजनको घुइँचो लाग्ने गर्दछ । विगत दुई वर्ष रोकिएको मेला यसपटक लाग्दा भक्तजनको खुट्टा टेक्ने ठाउँ छैन । तर विक्रमबाबाको पूजा गर्न आउनेहरुमा भने बर्सेनि आधुनिकता थपिँदै आएको थारु समुदायका गुरौ ठगाइ महतो बताउँछन् ।उनका अनुसार पहिलेपहिले घरबाट पूरै सेता कपडा लगाएर खाली खुट्टा हिँडेर विक्रमबाबा आएर पूजा गर्ने चलन थियो । तर, अहिले झिलिमिली देखिन्छ विक्रमबाबामा । ‘उहिले हाम्रा बाउबाजे घरबाट सेतो कपडा लगाएर खाली खुट्टा यहाँ आउनुहुन्थ्यो,’ उनी भन्छन्, ‘अनि राप्ती नदीमा स्नान गरेर पूजापाठ गर्नुहुन्थ्यो । तर, अहिले त्यस्तो छैन । भक्तजनहरु घरमै नुहाएर आफूअनुकूल कपडा लगाएर आउनुहुन्छ ।’
उहिले सेतो कपडामात्रै लगाउने चलन थियो । त्यतिबेला राप्ती नदी तरेरै विक्रमबाबा पूजा गर्न निकुञ्जभित्रको जङ्गल आउँथे । ‘अहिले त सबै आधुनिक भए । सबै जुत्ता चप्पल नै लगाएर यहीँसम्म आइपुग्छन्,’ उनी भन्छन्, ‘पूजा गर्ने बेलामा मात्रै खुट्टा खाली हुन्छ ।’पछिल्लो शैलीले विक्रमबाबाप्रतिको आस्था र विश्वास बढे पनि मौलिकता भने हराउँदै गएको उनको भनाइ छ । तैपनि यसलाई नकारात्मकरुपमा भने लिन नहुने उनको बुझाइ छ ।‘यो सब समयको खेल हो,’ उनी भन्छन्, ‘मान्छेलाई समयले जे–जे सिकायो, त्यैत्यै हुने रहेछ । त्यसैले यसलाई हामीले नकारात्मकरुपमा लिन हुँदैन ।’ पूजा शैली र पूजा सामग्रीमा भने खासै परिवर्तन नभएको उनको भनाइ छ । ‘विक्रमबाबाको हिजो पनि रुखको फेदमै पूजा हुन्थ्यो, आज पनि त्यसरी नै भइरहेको छ,’ उनी भन्छन्, ‘हिजो पनि बोका र परेवा नै बलि चढाइन्थ्यो, आज पनि त्यही छ । यसमा खासै फरक छैन ।’
विक्रमबाबामा बलि चढाएपछि विक्रमबाबा आसपासमा भने त्यसको कारबाही गरिँदैन । खानपान, भोजभतेर जे गरे पनि घैलाघारीतर्फको खाली चौरमा ल्याएर गर्नुपर्ने चलन छ । निकुञ्ज क्षेत्र भएकोले जङ्गली जनावरको डर बढी नै हुने हुँदा राप्ती पारि (जगतपुरतर्फको चौर) मा ल्याएर मात्रै खानपान गर्न मिल्ने चलन बसालेको हो ।हरेक वर्ष चैते दसैँको समयमा घैलाघारीबाट विक्रमबाबासम्म नै भक्तजनको बाक्लो भीड लाग्ने गर्दछ । दुई वर्षपछि पहिलोपटक लागेको यसवर्षको मेलामा पनि भक्तजनको उत्तिकै घुइँचो रहेको थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरीले बताए ।
कुनै समय थारु समुदायले मात्रै मान्दै आएको विक्रमबाबा हाल आएर सबै जातिको आस्थाको साझा केन्द्र बनेकोले भक्तजनको उपस्थिति हरेक वर्ष बढ्दै गएको उनको भनाइ छ ।विक्रमबाबाको दर्शन गरे सन्तान नहुनेका लागि सन्तान प्राप्ति हुने जनविश्वास छ । यहाँ सानो समीको बुटामुनि सामान्य थान छ । त्यसबाहेकका कुनै पनि संरचना छैन । जहाँ रुख छ, त्यसैको फेदमा पातपतिङ्गर पन्छाएर पूजा गर्दै आएका छन् । थारु समुदायका गुरौ ठगाई महतोका अनुसार विक्रमबाबा आइसकेपछि एकसाथ पूजा गर्न धेरै भीड हुने हुँदा थानको नजिकै आइसकेपछि सबैले रुखको फेदमा पूजा गर्ने पुरानै चलन छ ।
पछिल्लो केही दसकयता अस्वाभाविकरुपमा भक्तजनको संख्या बढ्न थालेपछि थान ९मन्दिर० बनाउन नखोजेको भने होइन । तर, विक्रमबाबाले थानमा बस्न नचाहेका कारण मन्दिर बन्न नसकेको उनको बुझाइ छ । ‘मन्दिर बनाउन नखोजेको होइन, तर दिउँसो मन्दिर बनाए पनि भोलि बिहान आउँदा भत्किरहेको देखेपछि यसलाई यत्तिकै छाडिदिएका रे,’ आफूभन्दा पहिलेका पुस्ताको भनाइ उद्धृत गर्दै महतोले भने ।
भरतपुर–२२ का वडाध्यक्ष विष्णुराज महतो भने मन्दिर बनाएको भए विक्रमबाबाको मौलिकता हराउने बताए । मन्दिर नबनाएकै कारण त्यतिबेलादेखि अहिलेसम्म पनि यहाँको वातावरण उस्तै र मानिसहरुको आकर्षण पनि बढ्दै गएको उनले बताए ।‘मन्दिर भएको भए हिन्दुहरुका लागि अन्य धार्मिक स्थलभन्दा फरक हुन्थेन होला,’ उनी भन्छन्, ‘हिजो जस्तो थियो, आज पनि त्यस्तै छाड्दा आदिवासी थारु समुदाय यहाँको भूमिपुत्र मात्र नभई प्रकृति पुजक हौँ भन्ने चिनारी पनि यसले दिएको छ ।’थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरीले भने पछिल्लो समय विक्रमबाबा सबै समुदायको साझा शक्तिपीठको रुपमा विकास भएको बताए ।‘हिजो यहाँका आदिवासी थारु समुदायले मात्रै पूजा गर्ने ठाउँमा अहिले नेपालका जुनसुकै स्थानका भक्तजन पनि यहाँ आएर आफ्नो भाकल पूरा गर्छन्,’ उनले भने, ‘त्यसैले भगवान सबैको साझा हुन् भन्ने कुराको प्रमाणित यही विक्रमबाबाले गरेको छ ।’
जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले भने विक्रमबाबाले पनि चितवनको धार्मिक पर्यटनलाई बढावा दिलाएकोले यसको प्रचारप्रसारलाई व्यापक बनाउनुपर्ने बताए । निकुञ्जभित्रको जङ्गलमा पूजापाठ हुने हुँदा यहाँ जङ्गली जनावरको डर पनि उत्तिकै छ । त्यसैले निकुञ्जका सेना, नेपाल प्रहरीलगायतका सुरक्षा निकाय पनि तैनाथ छन् ।पूजा गर्न आउने भक्तजलाई पनि होसियारीपूर्वक पूजापाठ गर्न निकुञ्ज प्रशासनले सुझाएको छ । जगतपुरको घैलाघारीदेखि विक्रमबाबासम्म सवारीसाधनलाई निषेध गरिएको छ ।