नवलपरासी/८ चैत।
आसन्न स्थानीय तहको निर्वाचन नजिकदै जाँदा विभिन्न दलबाट उमेदवारहरुको आकांक्षी खुल्दै गएका छन् । यसै क्रममा सरावल गाउँपालिका वडा नं. ४ को वडाध्यक्ष पदका उमेदवार बन्न पालिकाको अन्य वडाभन्दा आकांक्षीहरु धेरै देखिएका छन् ।
हाल गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित ४ वटा वडाहरु काँगे्रेसको नेतृत्वमा रहेको बेला अगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबाट सबै वडा पालिकाले नेतृत्व गर्ने वातावरण बन्दै गएको सो पार्टीका नेताहरुको दावी छ । विभिन्न निर्वाचनको नतिजाको तुल्ना गर्दा सरावल गाउँपालिकामा तुल्नात्मक रुपमा काँग्रेस बलियो देखिएपनि यहाँ अन्य दलले पनि यस पालि आफुहरुको नेतृत्वमा आउने बताउदै आएका छन् ।
हालसम्म कुनैपनि दलले उमेदवारहरु चयन गर्न सकेको अवस्था नरहेको कारणले विशेष गरी वडाध्यक्ष पदका उमेदवारहरु ईच्छा ब्यक्त गर्दै मतदातासाँगको सामिप्यता बाक्लो बनाएका छन् । सोही क्रममा सरावल गाउँपालिका वडा नंं. ४ बाट नेपाली काँगे्रसबाट चारजना दाबेदार रहेको पाईएको छ । जबकी अन्य वडामा काँग्रेसबाट बढीमा २ जना दाबेदार देखिएको छ ।
सरावल गाउँपालिका वडा नं. ४ मा हाल सोही पार्टीबाट छोटेलाल यादव वडाध्यक्ष पदमा निर्वाचित छन् भने अगामी निर्वाचनमा समेत सोही पदमा टिकटका लागि पहल गर्दै आएका छन् । यस्तै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा पुर्व महासमिति सदस्य बदरुल हक खान पनि वडाध्यक्ष पदका लागि दाबेदार रहेको बताएका छन् ।
पचास वर्षदेखि पार्टीमा सक्रिय रुपमा रहेको र यस वडामा आफु बलियो उमेदवार रहेको दावी गर्दै नेता खाँ ले टिकट पाए ढुक्कका साथ जित निकाल्ने बताउँछन् । यस्तै अर्का वडाध्यक्ष पदका लागि दावेदार रहेका छन् जनमेजय यादव । यादव हाल काँंग्रेसको वडा सभापति समेत हुन् । आफुले टिकट पाउने र जित्ने समेत दावी गरेका छन् । यस्तै वडाध्यक्ष अर्का उमेदवारका आकांक्षी अख्तर खाँ पनि रहेको बताएईएको छ ।