प्रत्यक्ष दोहोरी मार्फत आफ्नो अलग्गै पहिचान बनाउन सफल लोकदोहोरी गायिका हुन् – टीका सानु । आँखामा आँखा जुधाएर जस्तालाई त्यस्तै दोहोरी सबाल जवाफ गर्न सक्ने क्षमता नै उनको प्रशंसाको बलियो पक्ष बन्यो । सामाजिक संजालमा उनलाई रुचाउने समर्थकहरुको सङ्ख्या दिनानु दिन बढ्दो छ । युट्युबमा उनका दर्जनौं प्रत्यक्ष दोहोरीहरु सुन्न र हेर्न पाइन्छ ।औपचारिक रुपमा रेकर्ड भएका गीतहरुको सङ्ख्या पनि दर्जनौं पुगिसकेको छ । इन्द्रेणी कार्यक्रममा सहभागी भएर गरेका धेरै परोपकारी कार्यले उनलाई लोकप्रिय मात्र बनाएन कलाकारका साथै समाजसेवीको रुपमा समेत स्थापित गरिदियो । उनको सरल जीवनशैली, दयालु मन, निस्वार्थी सोच र अरुको दुखमा आफु मर्माहत हुने जस्ता गुणहरुले नै उनी करौडौ दर्शक श्रोताको ढुकढुकी बन्न पुगेकी हुन् ।
इन्द्रेणी कार्यक्रम मार्फत उनले आफ्नो गला र कलाको साहाराले राहत सङ्कलन गरी कैयौं रोगी, बिरामी, असहाय अनि दैबी प्रकोपमा परेका ब्यक्तिहरुलाई पुनर्जीवन दिने काम गरेकी छिन् । जस्तो अप्ठ्यारो स्थितिमा पनि मुस्कुराइरहने उनको बानीलाई इस्वरीय देन नै मान्न सकिन्छ । टिका सानुलाई केवल कलाकार मात्र भनेर सम्बोधन गरियो भने सायद अन्याय पनि हुन सक्छ । उनी कलाकारका साथै एक सच्चा समाजसेवी पनि हुन् ।
परिचय – टिका सानु दाङ जिल्ला, तुलसीपुर उ.म.न.पा. वडा नम्बर चार गहतेरामा बाबा मानबहादुर र आमा महिमा बि.क. को कोख बाट जन्मिएकी हुन् । चार दिदी बहिनी मध्य उनी माइली छोरी हुन् । जेठी दिदी सोभा ( गीता ), साइली बहिनी दुर्गा र कान्छी बहिनी गुमा हुन् । उनले गुरुजजिर उच्च मा. वि. रक्षाचौर बाट कक्षा छ सम्म, दिपज्योति नि. मा. वि. बाट सात र आठ, जनश्रम उच्च मा. वि. बाट एस् . एल्. सी. र पुन: गुरुजजिर उच्च मा.वि. बाटै कक्षा एघार सम्मको उच्च शिक्षा हासिल गरेकी छिन् ।
बाल्यकाल – प्राय: सबैको बाल्यकाल रमणीय वातावरणमा हासी खुसी बितेको हुन्छ । अपसोच टिका सानुको बाल्यकाल भने अभावै अभावमा दु:खद पाराले बित्न पुग्यो । उनका बाल्यकालका अप्ठ्यारा पलहरु भनी साध्य छैनन् र गनी साध्य पनि । उनको परिवारमा बिहान बेलुकाको छाक टार्न समेत धौ धौ हुन्थ्यो । आफ्नो गाउँ भन्दा पर कार्यक्रममा जानु पर्दा भाडा समेत हुन्नथ्यो । आमा रिन माग्न जादा गाउलेले भएर पनि छैन भनिदिन्थे ।
पहिलो सफलता र खुशीको कहानी – त्यति बेला टीका सानु कक्षा तीनमा पढ्दै थिइन् । उनले अध्ययन गर्ने बिद्यालयमा सरसफाई सम्बन्धी गीत प्रतियोगिता थियो । उनलाई जीत र हार भन्दानी गीत गाउने ठूलो रहर थियो । त्यसैले जानी नजानी सरसफाई सम्वन्धी गीत लेखिन् र सहभागी भइन् । उनी सबैभन्दा कान्छी प्रतियोगी पनि थिइन् । सौभाग्यवश उनी तृतीय हुन पुगिन् । यो सफलताले उनलाई नसोचेको खुशी दियो । यो खुशीको असली हकदार उनकी आमा हुनुहुन्थ्यो ।
एक त छोरी छोरी जन्माएकी भनेर सबै बाट अपहेलित त्यसै माथि अभावै अभावको जिन्दगी, तैपनि छोरीहरुका खुशीका लागि उहाँले न भोक न तिर्खा केही नभनी दिनरात मेहेनत गर्नु हुन्थ्यो । आमाको पिडामा मलम लगाउने सपना अनि थोरै भएनी आमालाई खुशी देख्ने चाहना टीका सानुको मनमा सानै देखि थियो किन कि आमाका पीडा र संघर्ष उनका आँखै अगाडि थिए ।
उनी आफ्नी आमाका आँखाका आँशु र दुखेको मनको प्रत्यक्षदर्शी थिइन् । छोरीले पनि आमाको आँशु पुछ्न सक्छन् भन्ने उनलाई लाग्थ्यो । उनको त्यो दिनको सानो सफलता सायद उनको लक्ष्यको एक आँकुरा पो थियो कि । उनी आफ्नो जिन्दगीको पहिलो पुरस्कार लिएर खुशी हुदै हतार हतार घर आइपुगिन् । आमा बारीमा लसुन गोड्दै हुनुहुन्थ्यो । आमाले पसिना पुछ्दै छोरीलाई नियाल्नु भयो ।
छोरीको मुहारको खुशी देखेर मुस्कुराउनु भयो । निधारमा अबिर अनि हातमा पुरस्कार लिएर उभिएकी आफ्नी सानी, लुरी, फुच्ची र प्यारी छोरीलाई देखेर आमा गौरवान्वित हुनुभयो । उनलाई हमेशा यसरी नै अघि बढ्न र मेहेनत गर्न नछोड्नु भनेर आशिर्वाद दिनुभयो । सायद तिनै सच्चा, ममतामयी आमाको आशीर्वादकै कमाल हुनुपर्छ आज टीका सानु सफलताको उच्च शिखरमा पुगिसकेकी छिन् ।
साङ्गीतिक यात्राको सुरुवात – उनी सानै देखि गाँउमा दाउरा घाँस गर्दा उकाली ओरालीमा गुनगुनाइरहन्थिन् । स्कुलका कार्यक्रममा होस् या घरमै या त साथीभाई सँग होस् समय मिल्ना साथ उनी गाउन सुरु गरिहाल्थिन् । उनको साङ्गीतिक यात्रा भने सल्यानको गाउँ बेशी रेडियोको जन्मोत्सव मा गाएको दोहोरी बाट सुरु भएको थियो ।हिमालय एकेडेमीको बिज्ञापनका लागि रेकर्ड गरिएको गीत नै उनको साङ्गीतिक यात्राको पहिलो औपचारिक रेकर्ड गीत बन्न पुग्यो । पहिलो गीत रेकर्ड हुदा उनी यति खुशी थिइन् कि आफुले गाएको गीतको रिङ्टोन झन्डै दुई तीन महिना सम्म दोहोराइ तेहेराइ सुन्ने गर्थिन ।
टिका बि क कसरी भइन् टिका सानु ? – टीका बि.क. सानै देखि शारीरिक रुपमा लुरी र फुच्ची थिइन् । कुरा त्यो बेलाको हो, जुन बेला सल्यानको गाउँबेशी रेडियोको जन्मोत्सवको उपलक्ष्यमा आयोजित दोहोरी प्रतियोगितामा उनी पनि सहभागी थिइन् । झन्डै चवालीस समुहहरु सहभागी थिए । उनी सबै प्रतिष्पर्धीहरु मध्य सानी र फुच्ची थिइन् । जब दोहोरी सुरु भयो उनको दोहोरी सबाल जवाफ सुनेर सबै छक्क परे ।
अतिथिहरु अनि निर्णायक मण्डल सबैले उनको खुलेर तारिफ गरे । त्यति सानी मान्छेले नि यति मीठो गाइन् भनेर सबैले माया गरेर सानु सानु भन्न लागे । त्यस पछिका हरेक प्रतियोगितामा उनलाई सानु नामले नै सम्बोधन गर्न थालियो । उनले यो नामलाई मायाको अमुल्य चिनो सम्जझिन्थिन् । अन्ततः त्यै सानु नाम जोडिएर आज उनी टीका सानु भएकी छिन् । सबैको मनमस्तिष्कमा बस्न सफल प्यारो नाम – टीका सानु । (नेपाली कलाकार र न्युज २४ टिभीको सहयोगमा)]